सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको भोलिपल्ट ओलीले भने- ‘२०८४ को चुनावमा एमालेले एकल बहुमत ल्याउँछ’

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालको निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन्।
देशमा सामाजिक सञ्जाल बन्द गरेको भोलिपल्ट शुक्रबार पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन गर्दै उनले सरकारमा रहेर चुनावमा हुने धाँधली रोक्ने बताए।
सोही क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कडा टिप्पणी गर्दै त्यसलाई ‘इतिहास नभएको पार्टी’को संज्ञा दिए। साथै, उनले महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाजस्ता विषयमा छलफल नहुने पनि स्पष्ट पारे।
महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका सम्पूर्ण पंक्ति र जनवर्गीय संगठनलाई सक्रिय रूपमा परिचालन गर्न सके एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताए।
‘हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन,’ उनले भने, ‘हामी सरकारमा छौँ, चुनावमा कसैले धाँधली गर्न सक्दैन। हामी दृढताको साथ धाँधली रोक्नेछौँ र निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्नेछौँ।’
रास्वपाप्रति कटाक्ष
आफ्नो सम्बोधनका क्रममा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै कडा टिप्पणी गरे। उनले रास्वपालाई इतिहास नभएको पार्टीको संज्ञा दिँदै त्यसको उदयलाई शंकास्पद बहावको रूपमा चित्रण गरे।
‘जसको न इतिहास थियो, न इतिहास छ। कसैले आरीबाट घोप्टाइदिएका त्यस्ता तत्वको बहाब आएको छ,’ ओलीले भने, ‘के को बहाब आएको हो- ती तत्त्वको छानविन गर्दै जाने हो।’
‘विद्या भण्डारीको विषयमा यहाँ छलफल हुँदैन’
महाधिवेशनमा अध्यक्ष ओलीले पार्टीभित्र अनावश्यक रूपमा संवेदनशील बनाइएका विषयमा विधान महाधिवेशनमा छलफल नहुने स्पष्ट पारे।
उनले पूर्वराष्ट्रपति भण्डारीको नाम नलिइकनै यस्ता विषयहरू विधानसँग सम्बन्धित नभएकाले उपयुक्त कमिटीमा मात्र छलफल हुने बताए।
‘पार्टीमा कतिपय विषयहरू अनावश्यक ढङ्गले संवेदनशील बनाइएका छन्, तर ती कुराहरू विधान महाधिवेशनसँग सम्बन्धित होइनन्,’ उनले भने, ‘विधान र दस्तावेजसँग सम्बन्धित नभएका प्रश्नहरू पार्टीका सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी जस्ता मञ्चमा छलफल हुनेछन्।’
भदौ २०, २०८२ शुक्रबार १३:३४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।