सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपाको माग

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपाको माग

एजेन्सी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयलाई ‘असंवैधानिक’ भन्दै तत्काल फिर्ता लिन माग गरेको छ।

पार्टीको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागकी प्रमुख सुमना श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सरकारको यो कदमले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि गम्भीर प्रहार गरेको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाल मनोरञ्जनका लागि मात्र नभई विचार-अभिव्यक्ति, व्यवसाय, शिक्षा र सूचना आदान-प्रदानको अभिन्न माध्यम बनिसकेको छ। यसलाई एक्कासी बन्द गर्नु जनताको मौलिक हकमाथिको ठाडो हस्तक्षेप हो।’

रास्वपाले नेपालको संविधानको धारा १७ (विचार र अभिव्यक्ति स्वतन्त्रता) र धारा १९ (सञ्चारको हक) ले प्रत्याभूत गरेको अधिकार सरकारले खोस्न खोजेको भन्दै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

पार्टीले यस कदमलाई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाविपरीत ठहर गरेको छ।

थप भनिएको छ, ‘संविधानले नागरिकलाई दिएको संवैधानिक अधिकार खोस्ने सरकारको रवैयाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कडा प्रतिवाद गर्दछ। सामाजिक सञ्जाललाई एकैपटक बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था विपरीत कदम हो।’

भदौ २०, २०८२ शुक्रबार १२:१९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।