अफगानिस्तानमा भूकम्पको कहर जारी, २४ घण्टामा तीनवटा झट्का

काठमाडौं : शक्तिशाली भूकम्पले ठूलो मानवीय क्षति बेहोरेको अफगानिस्तानमा पराकम्पन जाने क्रम रोकिएको छैन।
पछिल्लो २४ घण्टामा मात्रै भूकम्पका तीनवटा झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, शुक्रबार बिहान ४.९ म्याग्निच्युडको भूकम्प गएको छ।
यसअघि बिहीबार राति ५.८ र ४.१ म्याग्निच्युडका दुई पराकम्पन गएका थिए। लगातारको पराकम्पनले उद्धार र राहत कार्यमा समेत बाधा पुर्याएको छ।
यसैबीच, भूकम्पबाट सर्वाधिक प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायले राहत वितरण कार्यलाई तीव्रता दिएको छ। विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले कुनार र नङ्गरहार प्रान्तका पीडितहरूका लागि आपत्कालीन राहत सामग्री पठाएको छ।
प्रारम्भिक चरणमा खाद्यान्न र उच्च-ऊर्जायुक्त बिस्कुट पठाइएको र थप सामग्रीसहितको टोली पठाउने तयारी भइरहेको डब्लुएफपीले जनाएको छ।
अफगानिस्तानमा हालैको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १,४०० नाघेको छ भने ३,००० भन्दा बढी घाइते भएका छन्।
डब्लुएफपीका क्षेत्रीय निर्देशक हेराल्ड मानहाड्र्टले घर र सडकहरू ध्वस्त भएको तथा भूस्खलनका कारण उद्धार तथा राहत कार्यमा गम्भीर चुनौती थपिएको बताएका छन्।
भदौ २०, २०८२ शुक्रबार ११:२१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।