फेसबुकसहितका सामाजिक सञ्जालको वेबसाइट बन्द, एप पनि रोक्ने तयारी

काठमाडौं : सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै नेपालमा फेसबुक र युट्युब लगायतका प्लेटफर्मको वेबसाइट (यूआरएल) मा पहुँच रोकिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार इन्टरनेट सेवा प्रदायकहरूले बिहीबार रातिदेखि नै यस्ता वेबसाइटहरू बन्द गर्न थालेका हुन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई निष्क्रिय पार्ने निर्णय गरेपछि यो कदम चालिएको हो।
इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन (आइस्पान) का प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले सरकारी निर्देशन कार्यान्वयन गर्दै यूआरएल ब्लक गर्ने प्रक्रिया सुरु भइसकेको पुष्टि गरे।
पहिलो चरणमा सूचीमा रहेका २६ वटा सामाजिक सञ्जालका वेबसाइट बन्द गरिएको उनले जानकारी दिए।
‘हामीले बिहीबारबाटै सूचीमा रहेका यूआरएलहरू बन्द गर्न थालेका छौँ,’ खड्काले भने, ‘अब ब्राउजरमा facebook.com टाइप गर्दा खुल्दैन।’
एप भने सञ्चालनमै
हाल वेबसाइटको ठेगाना (यूआरएल) मात्र बन्द गरिएकाले मोबाइल एपहरू भने सञ्चालनमै छन्। प्रयोगकर्ताले एपमार्फत फेसबुक र अन्य सञ्जालहरू चलाउन सकिरहेका छन्।
आइस्पानका अनुसार, एपहरूलाई पनि एकरूपताका साथ बन्द गर्न प्राविधिक तयारी थालिएको छ।
सबै इन्टरनेट सेवा प्रदायकले एउटै मापदण्डअनुसार काम गर्नुपर्ने भएकाले एउटा प्राविधिक समिति बनाउन सरकारसँग आग्रह गरिएको खड्काले बताए।
भदौ २०, २०८२ शुक्रबार १०:५६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।