सिन्धुलीमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु, अर्का एक जना घाइते

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-९ स्थित मदन भण्डारी राजमार्गमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्। दुर्घटनापछि अनियन्त्रित भएको ट्रकले सडक छेउको एक घरमा समेत क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ७५१४ नम्बरको ट्रकले आज बिहान पैदल हिँडिरहेका स्थानीय भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिएको थियो।
प्रहरी उपरीक्षक लालध्वज सुवेदीले दिएको जानकारी अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका भुजेलको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। घाइते दाहालको भने सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।
पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको ट्रक सडक छेउको एक घरमा ठोक्किएको थियो। प्रहरीका अनुसार ट्रक ठोक्किँदा घरको गारो भत्किएको छ भने घरमा पालिएका करिब २० वटा कुखुरा पनि मरेका छन्।
प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
भदौ २०, २०८२ शुक्रबार १०:२८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।