७३ लागे ‘थ्री इडियट्स’ र ‘12th फेल’का निर्देशक : डाक्टर नपढेपछि बुवाले भनेका थिए- मुम्बईमा भोकै मर्छस्, तर ब्लकबस्टर फिल्म बनाएर इतिहास रचे

एजेन्सी : आज आफ्नो ७३औं जन्मदिन मनाइरहेका विधु विनोद चोपडा भारतीय सिनेमाका एक सफल निर्माता हुन्।
‘थ्री इडियट्स’, ‘मुन्नाभाई एमबीबीएस’ देखि हालैको ब्लकबस्टर ‘१२th फेल’ सम्मका निर्माता/निर्देशक चोपडाको सफलताको पछाडि संघर्षको लामो कथा छ।
विधु विनोद चोपडाका बुवा डी.एन. चोपडा उनलाई डाक्टर बनाउन चाहन्थे। तर, विधुको सपना फिल्म निर्देशनमा थियो। जब उनले आफ्नो यो इच्छा बुवालाई सुनाए, उनले जवाफमा थप्पड खाए।
बुवाले भनेका थिए, ‘भोकै मर्छस्, मुम्बईमा कसरी बस्छस्?’
फिल्म पढ्न पठाउने पैसा परिवारसँग थिएन। त्यसपछि विधुले अर्थशास्त्रमा कश्मीर विश्वविद्यालयमा टप गरे, जसकारण उनले भारत सरकारबाट २५० रुपैयाँको राष्ट्रिय छात्रवृत्ति पाए। त्यही पैसा बोकेर उनी पुणेस्थित फिल्म इन्स्टिच्युट भर्ना भए।
इन्स्टिच्युटमा डिप्लोमा गर्दा उनले बनाएको सर्ट फिल्म ‘मर्डर एट मंकी हिल’ ले राष्ट्रिय पुरस्कार जित्यो। तर, उनको पहिलो फिचर फिल्म ‘सजा ए मौत’ (१९८१) बक्स अफिसमा नराम्ररी असफल भयो। यो असफलताले उनी यति निराश भए कि उनले आत्महत्या गर्ने सोचसमेत बनाएका थिए, तर परिवारको मायाले उनलाई रोक्यो।
‘मर्डर एट मंकी हिल’ ले राष्ट्रिय पुरस्कार जित्दा उनलाई ४ हजार रुपैयाँ पनि दिइने भनिएको थियो। तर, पुरस्कारसँगै उनले पैसाको सट्टा सात वर्षपछि भुक्तानी हुने पत्र पाए। पैसाको तत्काल आवश्यकता परेका विधु तत्कालीन सूचना तथा प्रसारण मन्त्री लालकृष्ण आडवाणीकहाँ पुगे।
आफ्नो समस्या सुनाउँदा आडवाणी उनीसँग रिसाए। विधुले पनि रिसाउँदै भने, ‘सर, तपाईंले नास्ता गर्नुभयो? मैले त गरेको छैन। मलाई यो पैसाको यति आवश्यक छ कि म भोकै पेट यहाँ आएको छु।’
उनको इमानदारी देखेर आडवाणी शान्त भए र उनलाई पराठा र अण्डा खुवाएर तत्काल ४ हजार रुपैयाँ दिलाए। त्यो उनको जीवनको पहिलो कमाइ थियो।
विधुले अमिताभ बच्चनलाई लिएर ‘एकलव्य’ फिल्म बनाएका थिए। अमिताभले सो फिल्ममा बिना पारिश्रमिक काम गरेका थिए। फिल्म सकिएपछि विधुले कृतज्ञता स्वरूप अमिताभलाई ४.५ करोडको रोल्स रोयस कार उपहार दिए, जबकि उनी आफैं मारुती भ्यान चढ्थे।
यो कुरा थाहा पाएपछि उनकी आमाले उनलाई थप्पड मार्दै भनिन्, ‘अरूलाई यति महँगो गाडी उपहार दिन्छस्, आफूचाहिँ डब्बा जस्तो गाडीमा हिँड्छस्।’
आफ्नो फिल्मी करियरजस्तै उनको व्यक्तिगत जीवन पनि उतारचढावपूर्ण रह्यो। उनले तीन पटक विवाह गरे। उनको पहिलो विवाह १९७६ मा फिल्म सम्पादक रेणु सलुजासँग भएको थियो, तर १९८३ मा उनीहरूको सम्बन्ध विच्छेद भयो।
रेणु सलुजासँग अलग भएपछि, शबनम सुखदेव विधुको जीवनमा प्रवेश गरिन्। दुवैले १९८५ मा विवाह गरे, तर यो सम्बन्ध पनि लामो समय टिकेन र दुवै १९८९ मा अलग भए। त्यसपछि विधुले १९९० मा अनुपमा चोपडासँग तेस्रो पटक विवाह गरे।
‘सजा ए मौत’ को असफलतापछि उनले ‘परिन्दा’, ‘१९४२: अ लभ स्टोरी’, ‘मिशन कश्मीर’ जस्ता सफल फिल्म निर्देशन गरे।
पछि निर्माताको रूपमा उनले ‘मुन्नाभाई एमबीबीएस’, ‘थ्री इडियट्स’, ‘पीके’ र ‘सञ्जु’ जस्ता ऐतिहासिक फिल्महरू दिए। १३ वर्षपछि ‘शिकारा’ बाट निर्देशनमा फर्किएका उनले हालै ‘१२th फेल’ मार्फत फेरि आफूलाई अब्बल साबित गरेका छन्।
भदौ २०, २०८२ शुक्रबार ०९:५८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।