भारतीय स्पिनर अमित मिश्राद्वारा क्रिकेटबाट सन्न्यास, आईपीएलमा बनाएका थिए दुर्लभ कीर्तिमान

भारतीय स्पिनर अमित मिश्राद्वारा क्रिकेटबाट सन्न्यास, आईपीएलमा बनाएका थिए दुर्लभ कीर्तिमान

एजेन्सी : भारतीय लेग स्पिनर अमित मिश्राले बिहीबार क्रिकेटका सबै स्वरूपबाट सन्न्यासको घोषणा गरेका छन्।

इन्डियन प्रिमियर लिग (आईपीएल)को इतिहासमा तीन पटक ह्याट्रिक लिने एकमात्र बलरको कीर्तिमान बनाएका ४२ वर्षीय मिश्राले सन् २०१७ मा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए।

सामाजिक सञ्जालमा भावुक पोस्ट लेख्दै उनले आफ्नो २५ वर्षे क्रिकेट यात्रालाई अविस्मरणीय भनेका छन्।

उनले लेखेका छन्, ‘क्रिकेटमा मेरा यी २५ वर्ष अविस्मरणीय रहे। म बीसीसीआई, हरियाणा क्रिकेट एसोसिएसन, सहयोगी स्टाफ, सहकर्मी र परिवारप्रति हृदयदेखि नै आभारी छु, जो यो यात्रामा मसँगै रहे।’

उनले थपे, ‘म ती सबै फ्यानहरूलाई धन्यवाद दिन चाहन्छु, जसको माया र समर्थनले मैले जहाँ खेलेँ, यो यात्रालाई यादगार बनायो। क्रिकेटले मलाई अनगिन्ती सम्झना र अमूल्य ज्ञान दिएको छ।’

सन् २००३ मा बंगलादेशविरुद्ध एकदिवसीय खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका मिश्राले भारतका लागि २२ टेस्ट, ३६ एकदिवसीय र १० टी-२० अन्तर्राष्ट्रिय खेल खेले।

उनी आईपीएलका एक सफल बलर मानिन्छन्। १६२ खेलमा १७४ विकेट लिएका उनी लिगमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सातौं स्थानमा छन्।

मिश्राले आईपीएलमा तीन फरक टोली दिल्ली डेयरडेभिल्स, किंग्स इलेभेन पञ्जाब र सनराइजर्स हैदरावादबाट खेल्दै ह्याट्रिक लिने दुर्लभ कीर्तिमान बनाएका छन्।

उनले अन्तिम पटक आईपीएल २०२४ मा लखनउ सुपर जायन्ट्सबाट राजस्थान रोयल्सविरुद्ध खेलेका थिए।

भदौ २०, २०८२ शुक्रबार ०९:३१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।