फिजिक्सलाई रमाइलो बनाउने ‘गजेन्द्र सर’, जसको प्रधानमन्त्रीले समेत प्रशंसा गरे

सुर्खेत : कुनै समय वीरेन्द्रनगर-६ स्थित जन नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि ‘फिजिक्स’ सबैभन्दा कठिन र डरलाग्दो विषय थियो।
तर, आज त्यही फिजिक्स उनीहरूका लागि सबैभन्दा रमाइलो र रोजाइको विषय बनेको छ। यो सकारात्मक परिवर्तनका मुख्य प्रेरणा हुन्, शिक्षक गजेन्द्र पुन, जसलाई विद्यार्थीहरू मायाले ‘प्रिय गजेन्द्र सर’ भनेर चिन्छन्।
विगत १२ वर्षदेखि यस विद्यालयमा कार्यरत गजेन्द्रले सुरुवातमै विद्यार्थीहरू फिजिक्समा किन कमजोर छन् भन्ने प्रश्नको उत्तर खोजे। उनले समस्या विषयमा नभई पढाउने शैलीमा रहेको पत्ता लगाए।
त्यसपछि, उनले फिजिक्सका जटिल सूत्र र सिद्धान्तहरूलाई रमाइला कथा र व्यावहारिक जीवनसँग जोडेर पढाउन थाले। लामो डेरिभेसनलाई छोटो र सरल तरिकाले बुझाउने, हरेक विद्यार्थीको प्रश्नलाई धैर्यपूर्वक सुन्ने र मायाले जवाफ दिने उनको शैलीले विद्यार्थीहरूलाई आकर्षित गर्यो।
कक्षाकोठाभन्दा बाहिर पनि उनी विद्यार्थीका लागि उत्तिकै उत्प्रेरक छन्। ‘मान्छेहरू चन्द्रमामा पुगिसके, तिमीहरू एउटा फिजिक्स पास गर्न सक्दैनौ?’ भन्ने उनको भनाइ विद्यार्थीमाझ निकै लोकप्रिय छ, जसले उनीहरूमा थप ऊर्जा भर्छ।
सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ मा २०४५ सालमा जन्मिएका गजेन्द्रको जीवन संघर्षपूर्ण थियो। १६ वर्षको उमेरमा शिक्षक बुवाको निधन भएपछि उनको डाक्टर बन्ने सपना अधुरै रह्यो।
तर, बुवाजस्तै असल शिक्षक बन्ने अठोट लिएर उनी अघि बढे। कमजोर आर्थिक अवस्थाका बीच आमाले पाँच कट्ठा जग्गा बेचेर उनको पढाइलाई निरन्तरता दिइन्। काठमाडौंमा विज्ञान विषयमा स्नातकोत्तर गर्दा उनले होम ट्युसन पढाएर आफ्नो खर्च जुटाएका थिए।
आफ्नो संघर्षलाई शक्तिमा बदल्दै उनी आज हजारौं विद्यार्थीका लागि प्रेरणाका स्रोत बनेका छन्। समस्यामा परेका विद्यार्थीको घरमै पुगेर अभिभावकलाई सल्लाह दिने र कुलतमा फसेका किशोरहरूलाई सही बाटो देखाउने जस्ता सामाजिक काममा पनि उनी सक्रिय छन्।
उनको निरन्तर मेहनत र सही मार्गदर्शनको परिणाम विद्यालयको नतिजामा स्पष्ट देखिन्छ। हालै प्रकाशित कक्षा-१२ को नतिजामा उनले पढाएका ११८ विद्यार्थीमध्ये ११४ जना (९६.६ प्रतिशत) उत्तीर्ण भए, जुन विद्यालय र कर्णाली प्रदेशकै लागि गौरवको विषय हो। अघिल्लो वर्ष पनि उनको विषयमा ९२ प्रतिशत विद्यार्थी पास भएका थिए।
उनको यो योगदानको कदर राष्ट्रिय स्तरमा समेत भएको छ। युवा दिवसको अवसरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत उनको नाम र फोटोसहित प्रशंसा गर्दै बधाई दिएका थिए।
‘मलाई थाहा नै थिएन प्रधानमन्त्रीले नामसहित फोटो हाल्नुभयो भनेर। विद्यार्थीहरूले म्यासेज पठाएपछि मात्रै थाहा पाएँ। मेहनतको कदर हुँदा अझै जिम्मेवारी बढेको महसुस गरेको छु’, उनी भन्छन् ।
उनको सपना अझ ठूलो छ। विद्यालयलाई देशको नमूना विद्यालयका रूपमा चिनाउने गजेन्द्रको सोच छ।
‘म यो विद्यालयलाई कर्णाली मात्र होइन, देशकै नमुना विद्यालय बनाउन चाहन्छु,’ उनले भने, ‘यसका लागि व्यवस्थापन, अभिभावक र विद्यार्थी सबैको साथ जरुरी छ।’
भदौ २०, २०८२ शुक्रबार ०८:१५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।