गोदावरीमा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि, दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

गोदावरीमा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि, दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

काठमाडौं : एमालेले आफ्नो दोस्रो विधान महाधिवेशन आजबाट सुरू हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिएको तीन दिने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे गर्नेछन्।

पार्टीका स्थायी समिति सदस्य राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी जम्मा २ हजार ३४१ जना सहभागी हुनेछन्। अधिकांश प्रतिनिधिहरू पहिल्यै काठमाडौं आइपुगेका छन्।

महाधिवेशनका लागि सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर सडक खण्डमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ। ​​​​​​सनराइज हलमा प्रवेश गर्दा प्रधानमन्त्री ओलीको पूर्ण कदको तस्बिर स्वागतमा देखिन्छ।

यसपटक उद्घाटन सत्रलाई डिजिटल प्रविधि मार्फत सञ्चालन गरिनेछ। प्रतिनिधि परिचय स्क्यानका लागि ६ वटा कम्प्युटर बुथ, ४ वटा डिजिटल ढोका, र हलभित्र प्रत्यक्ष प्रसारण हुने डिजिटल बोर्डको व्यवस्था गरिएको छ।

उद्घाटन कार्यक्रम करिब १२ मिनेटमा सकिने छ। त्यसपछि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने दिउँसो १ बजे ‘खाजा ब्रेक’ हुनेछ। त्यसपछि उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव गर्नेछन्।

महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन तथा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पेश हुनेछ भने साँझ ५ बजे आजका सबै कार्यसूची टुंगिने बताइएको छ।

पोलिटब्यूरो सदस्य विनोद श्रेष्ठका अनुसार महाधिवेशन स्थल बाहिर विभिन्न जातजाति र समुदायका झाँकी देखाइनेछन्, जसलाई प्रतिनिधिहरूले हलभित्रै डिजिटल बोर्डमार्फत हेर्न सक्नेछन्।

शनिबार दिनभर प्रतिवेदनमाथि नौ वटा समूहमा छलफल हुनेछ भने आइतबार समूह प्रतिवेदन प्रस्तुतिसँगै अध्यक्ष ओलीको समापन सम्बोधनपछि महाधिवेशन सम्पन्न हुने एमालेले जनाएको छ।

एमालेले आफ्नो पहिलो विधान महाधिवेशन पनि २०७८ सालमा सनराइज हलमै आयोजना गरेको थियो।

भदौ २०, २०८२ शुक्रबार ०७:५४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।