फेरि विवादास्पद घोषणा गर्दै ट्रम्प, ‘डिपार्टमेन्ट अफ वार’को नाम फेर्ने प्रस्ताव

फेरि विवादास्पद घोषणा गर्दै ट्रम्प, ‘डिपार्टमेन्ट अफ वार’को नाम फेर्ने प्रस्ताव

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एक विवादास्पद कदमका लागि तयारी अवस्थामा छन्।

उनले शुक्रबार हस्ताक्षर गर्ने भनिएको एक आदेशमार्फत अमेरिकी डिपार्टमेन्ट अफ डिफेन्सको नाम परिवर्तन गरी पुनः डिपार्टमेन्ट अफ वार राख्ने संकेत दिएका छन्।

ट्रम्पका अनुसार यसले अमेरिकी सेनाको ‘मजबुती, कठोरता र दृढ संकल्प’ विश्वसामु प्रस्ट हुनेछ। तर, नाम परिवर्तन यति सरल प्रक्रिया भने होइन।

अमेरिकी संविधानको संरचना अनुसार मन्त्रालयको नाम आधिकारिक रूपमा बदल्न अमेरिकी संसदबाट कानुन पारित हुनैपर्छ। यसका लागि व्यापक बहस र स्वीकृति आवश्यक पर्छ।

अमेरिकी रक्षा मन्त्रालयलाई १९४९ सम्म वार डिपार्टमेन्ट नै भनिन्थ्यो। दोस्रो विश्वयुद्धपछि, सेना, नौसेना र वायुसेनालाई एउटै छातामुनि ल्याउने निर्णयसँगै यसको पुनः संरचना गरिएको थियो।

त्यसबेला नाम ‘डिफेन्स डिपार्टमेन्ट’ राखिनुको मुख्य उद्देश्य थियो- नयाँ परमाणु युगमा अमेरिकाले संसारलाई युद्ध होइन, ‘शान्ति कायम गर्ने’ सन्देश दिने।

इतिहासकारहरूका अनुसार, नाम परिवर्तन केवल शब्दको खेल थिएन, बरु राजनीतिक सन्देश थियो। द्वितीय विश्वयुद्धको त्रासदीपछि अमेरिका आफूलाई ‘युद्ध सुरू गर्ने राष्ट्र’ नभई ‘युद्ध रोक्ने शक्ति’का रूपमा प्रस्तुत गर्न चाहन्थ्यो।

अब, ट्रम्पको यो घोषणा फेरि पनि नयाँ बहसको कारण बन्ने देखिन्छ। ‘वार डिपार्टमेन्ट’ नाम फिर्ता गर्ने प्रस्तावले अमेरिकी विदेशनीति, सैन्य रणनीति र अन्तर्राष्ट्रिय छविमा कस्तो प्रभाव पार्ला भन्ने प्रश्न खडा भएको छ।

समर्थकहरूले यसलाई कठोर शब्द प्रयोगले शत्रु राष्ट्रलाई सचेत पार्छ भन्ने तर्क गरिरहेका छन् भने आलोचकहरू यसलाई ‘शीतयुद्धकालीन मानसिकता’ फिर्ता ल्याउने कदम ठान्छन्।

भदौ २०, २०८२ शुक्रबार ०७:४५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।