मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुने

मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुने

मनाङ : मनाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा क्षेत्र नं २ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले बिहीबार बैठक बसेर निर्णय गर्दै जिल्ला निर्वाचन कार्यालयलाई कार्यतालिकासहित पत्र पठाएको हो।

२०७९ मङ्सिरमा निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) अयोग्य ठहरिएपछि प्रदेशसभा सदस्य पद रिक्त भएको थियो। सर्वोच्च अदालतको २०८२ असार ४ गतेको आदेशअनुसार गुरुङलाई छ वर्षसम्म उम्मेदवार हुन अयोग्य ठहराइएको छ। त्यसपछि २०८१ कात्तिक २० देखि पद रिक्त भएको मानिएको हो।

संविधान र कानुनअनुसार प्रदेशसभा सदस्यको पदमा छ महिनाभन्दा बढी अवधि बाँकी रहँदा रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था भएकाले आयोगले मिति तोकेको हो।

कार्यतालिका अनुसार भदौ २० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, असोज २१ गते उम्मेदवार मनोनयन दर्ता, असोज २५ गते अन्तिम नामावली प्रकाशन तथा चिह्न वितरण, कात्तिक ११ गते मतदान अधिकृत र कर्मचारी नियुक्ति र कात्तिक १७ गते उप-निर्वाचन हुनेछ।

यस निर्वाचनका लागि आयोगले २०८२ भदौ २५ मा प्रकाशन हुने अन्तिम मतदाता नामावली प्रयोग गर्नेछ। मतदाताको न्यूनतम उमेर यही कात्तिक १६ गतेसम्म १८ वर्ष पुगेका हुनुपर्ने छ।

गत निर्वाचनमा मनाङमा ६ हजार ७७९ मतदाता मध्ये ७१.४७ प्रतिशतले मतदान गरेका थिए। प्रदेशसभा (२) मा ४ हजार १९७ मतदाता रहेका थिए। त्यसबेला राजीव गुरुङ सर्वसम्मत निर्वाचित भएका थिए।

भदौ २०, २०८२ शुक्रबार ०७:३३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।