एनपीएल टिम विराटनगर किङ्सले ‘म्यूजिकल कन्सर्ट’ गर्दै

एनपीएल टिम विराटनगर किङ्सले ‘म्यूजिकल कन्सर्ट’ गर्दै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) टिम विराटनगर किङ्सले शनिबार विराटनगरको जैन भवनमा भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रममा नेपालका चर्चित युवा गायक नितेश जंग कुँवरले मुख्य आकर्षणका रूपमा प्रस्तुति दिनेछन्। साथै, स्थानीय कलाकार शुभम एण्ड द ब्याण्ड र मृत्युन्जयले पनि आ-आफ्ना प्रस्तुति दिनेछन्।

साँझ ४:३० बजे सुरु हुने कार्यक्रममा टिकट मूल्य प्रतिव्यक्ति रु. २०० तोकिएको छ। तर, विराटनगर किङ्सको जर्सी लगाएर आउने दर्शकलाई भने विशेष सम्मानस्वरूप निःशुल्क प्रवेश प्रदान गरिनेछ। टिमले यस विशेष पहलमार्फत समर्थकप्रति आभार प्रकट गर्दै “कोशीको गौरव, हाम्रो पहिचान” भन्ने मूल मन्त्रमा सबैलाई एकताबद्ध गर्ने लक्ष्य राखेको जनाएको छ।

विराटनगर किङ्सका मालिकहरूमध्ये एक वेङ्कटेश मुन्द्राले भने, “विराटनगर किङ्स परिवारले सदैव क्रिकेटमार्फत मानिसहरूलाई एकताबद्ध गराउँदै आएको छ। अब संगीत, संस्कृति र उत्सवमार्फत पनि हामी समर्थकसँग नजिक हुन चाहन्छौं। यो कन्सर्ट हाम्रा समर्थकलाई आभार व्यक्त गर्दै नेपाल प्रिमियर लिगअघि कोशी प्रदेशमा उत्साह थप्ने उद्देश्यले आयोजना गरिएको हो।”

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आउँदो नेपाल प्रिमियर लिग (एनपीएल) मा आठ टोली सहभागी हुनेछन् र प्रतियोगिता मङ्सिरदेखि सुरु हुने तय भएको छ।

भदौ १९, २०८२ बिहीबार २१:३५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।