हलले शो नदिएको भन्दै ‘चिठी’ निर्माण टिमले गर्यो प्रदर्शन स्थगित, दयाको ‘रिमै’लाई राहत

हलले शो नदिएको भन्दै ‘चिठी’ निर्माण टिमले गर्यो प्रदर्शन स्थगित, दयाको ‘रिमै’लाई राहत

काठमाडौं : शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चिठी’ स्थगित भएको छ। हलले अपायक समयमा शो दिएको आरोप लगाउँदै निर्माण टिमले तत्कालका लागि प्रदर्शन रोक्ने निर्णय गरेको हो। यो फिल्म प्रदर्शनमा नआउने भएसँगै दयाहाङ राई अभिनित फिल्म ‘रिमै’लाई राहत मिलेको छ।

‘चिठी’को निर्माण टिमले एक विज्ञप्ति जारी गर्दै आफ्नो फिल्मलाई हलले शो नदिएको र दिएको पनि अपायक समयमा मात्र भएको आरोप लगाउँदै लागि प्रदर्शन नगर्ने उल्लेख गरेको छ।

‘अत्यन्तै दुःखका साथ सूचित गर्न चाहन्छौँ कि बस चलचित्रका लागि निर्धारित शोहरू समयमा प्राप्त गर्न सकिएनन्। कतिपय हलहरूले शो नै नदिएको वा दिँदा पनि अफ–टाइम मात्र दिएको अवस्थाले गर्दा हामी बाध्य भएर चलचित्रको तत्कालीन प्रदर्शन स्थगित गर्ने निर्णय गर्नुपरेको छ। हामी सबै कलाकार, प्राविधिक, निर्माता, निर्देशकको टिम दिनरात खटेर यो चलचित्रलाई तपाईंहरूसम्म ल्याउने सपना बोकेका थियौँ। तर, यथार्थपरक परिस्थितिले हाम्रो त्यो सपना केही समयका लागि रोकिएको मात्र हो,’ विज्ञप्तिमा भनिएको छ। 

इरा प्रोडक्सनबाट निर्माण भएको यो फिल्मका निर्माता जोशी हुन् भने निर्देशक माधवराज खरेल हुन्। दुवैले लेखेको संयुक्त विज्ञप्तिमा थप भनिएको छ, ‘हामीले अबक प्रयास गर्दा–गर्दै पनि चलचित्र ‘चिठी’को प्रदर्शनका लागि उपयुक्त शो र समय प्रदान नगर्नु शो स्थगन गर्नुको प्रमुख कारण रहेको छ। हामी आदरणीय दर्शकहरूसँग क्षमा चाहन्छौँ कि हामीले वाचा गरेअनुसार यहाँहरू सामु चलचित्रलाई प्रदर्शन गर्न असमर्थ भयौँ।’

यस फिल्ममा खड्गबहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, सञ्जित भण्डारी, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, शान्ति प्रिय, प्रविण भुषाल, श्रीदेव भट्टराई, नम्रता खरेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराईलगायत कलाकारको अभिनय रहेको छ।

फिल्म ‘चिठी’ प्रदर्शनमा नआएपछि दयाहाङ राई अभिनित फिल्म ‘रिमै’ भोलिदेखि एकलौटी प्रदर्शनमा आउने भएको हो।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस्को प्रस्तुति र रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस फिल्ममा दयाहाङका अलावा अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङको मुख्य भूमिका रहेको छ।

अन्य कलाकारमा कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, विष्णु मोक्तान, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङ र बाल कलाकारमा असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरलगायतको अभिनय छ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्म शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन्। वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता हुन्।
 

भदौ १९, २०८२ बिहीबार २१:२९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।