भ्रष्टाचारको आरोप लागेका पेरूका ७९ वर्षीय पूर्वराष्ट्रपतिलाई १३ वर्ष जेल सजाय

भ्रष्टाचारको आरोप लागेका पेरूका ७९ वर्षीय पूर्वराष्ट्रपतिलाई १३ वर्ष जेल सजाय

एजेन्सी : पेरूका पूर्वराष्ट्रपति अलेजान्ड्रो टोलेडोलाई मनी लन्ड्रिङको आरोपमा १३ वर्ष चार महिनाको जेल सजाय सुनाइएको छ। भ्रष्टाचार प्रकरणसँग जोडिएको यो उनको दोस्रो सजाय हो।

सन् २००१ देखि २००६ सम्म पेरूको राष्ट्रपति रहेका ७९ वर्षीय अर्थशास्त्री टोलेडोलाई ब्राजिलको निर्माण कम्पनी ओडेब्रेक्ट (हाल नोभोनोर) बाट प्राप्त घुस प्रयोग गरी उच्च मूल्यका अचल सम्पत्ति किनेको अभियोगमा दोषी ठहर गरिएको हो।

अभियोजनकर्ताका अनुसार टोलेडो दम्पतीले करिब ५१ लाख डलरको रकम लिमा नजिकै घर र कार्यालय किन्न र अन्य दुई सम्पत्तिको धितो तिर्न प्रयोग गरेका थिए। यो रकम कोस्टारिकास्थित अपतटीय कम्पनीमार्फत सारिएको र त्यसैलाई मनी लन्ड्रिङ गर्न प्रयोग गरिएको जनाइएको छ।

यसअघि २०२४ अक्टोबरमा टोलेडोलाई ओडेब्रेक्टबाट करिब ३५ मिलियन डलर घुस लिएर सार्वजनिक निर्माण परियोजना दिलाएको आरोपमा २० वर्ष ६ महिनाको जेल सजाय सुनाइएको थियो। नयाँ सजायसँगै उनका दुवै सजाय एकैसाथ कार्यान्वयन हुनेछन्।

स्ट्यानफोर्ड र सान फ्रान्सिस्को विश्वविद्यालयका स्नातक टोलेडो हाल लिमा स्थित प्रहरी बेसको जेलमा बन्दी जीवन बिताइरहेका छन्। उनले सबै आरोप अस्वीकार गर्दै आफूलाई राजनीतिक रूपमा फसाइएको दाबी गर्दै आएका छन्।

पेरूका अन्य पूर्वराष्ट्रपतिहरू पनि भ्रष्टाचार मुद्दामा जेल सजाय वा अभियोजनको प्रक्रियामा रहेका छन्। ओलान्टा हुमाला र पेड्रो क्यास्टिलो विशेष सुविधासहितको जेलमा छन् भने पूर्वराष्ट्रपति मार्टिन विजकारालाई शीर्ष अदालतले हालै रिहा गरेको छ। विजकारालाई मोक्वेगुआ प्रदेशका गभर्नर हुँदा घुस लिएको आरोप लागेर जेल पठाइएको थियो, तर उनले आरोपलाई राजनीतिक प्रतिशोधको रुपमा खारेज गरेका छन्।

यस्तै, ८६ वर्षीय पूर्वराष्ट्रपति पेड्रो पाब्लो कुजिन्स्कीविरुद्ध पनि ‘कार वाश’ घोटालासम्बन्धी मुद्दा चलिरहेको छ। अभियोजकहरूले उनलाई ३५ वर्षसम्मको जेल सजाय माग गरेका छन्।

ओडेब्रेक्टसँग जोडिएका यी भ्रष्टाचार प्रकरणहरूले ल्याटिन अमेरिकाभरि तहल्का मच्चाउनुका साथै पेरूका अधिकांश पूर्वराष्ट्रपतिलाई कानुनी कारबाहीमा तानिसकेको देखिन्छ।

भदौ १९, २०८२ बिहीबार २१:१५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।