एमाले विधान महाधिवेशनः विचार दस्तावेजमाथि छलफल भोलिदेखि

एमाले विधान महाधिवेशनः विचार दस्तावेजमाथि छलफल भोलिदेखि

काठमाडौं : एमालेको दोस्रो विधान महाधिवेशन भोलिदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ। महाधिवेशनमा पार्टीले प्रस्तुत गरेको विचार दस्तावेज, विधान संशोधन प्रस्ताव, राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि विस्तृत छलफल गरिनेछ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरिबाट आएका दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित कुल दुई हजार ३४१ जना सहभागी हुनेछन्। काठमाडौँमा प्रतिनिधिहरु आउने क्रम जारी छ।

एमालेको विधानअनुसार राष्ट्रिय महाधिवेशनबीचमा विधान महाधिवेशन गर्ने व्यवस्था छ । यसैअनुसार गोदावरीमा हुने महाधिवेशनमा पार्टीको आन्तरिक जीवन, संरचना, संगठन, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, केन्द्रीय निर्वाचन आयोगको नयाँ नेतृत्व चयन गर्ने पनि कार्यसूचीमा छ।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यस्तै, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ-आफ्ना प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।

पहिलो दिन प्रतिवेदनमाथिको छलफलका लागि प्रतिनिधिहरुलाई १० समूहमा विभाजन गरिने एमाले प्रचार विभागले जनाएको छ। सातदोबाटोदेखि गोदावरीसम्मको बाटो रंगीचंगी सजाइएको छ। सडकखण्डमा करिब १८ वटा स्वागतद्वार बनाइएको छ भने बिजुलीका खम्बामा हसिया-हथौडा र सूर्य अंकित झण्डा सजाइएका छन्।

सनराइज सभाहलभित्र प्रवेश गर्नका लागि डिजिटल स्क्यान प्रणाली प्रयोग गरिनेछ। अध्यक्ष ओलीको लागि छुट्टै प्रवेशद्वार राखिएको छ भने अन्य पदाधिकारी र प्रतिनिधिहरुको लागि अलग-अलग गेटको व्यवस्था छ। हलभित्र पार्टीको लोगो, संस्थापक महासचिव पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीको तस्बिर र कार्ल मार्क्स, एङ्गेल्स, लेनिनका पूर्णकद चित्र राखिएका छन्।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित सुरु हुन लागेको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ।

भदौ १९, २०८२ बिहीबार २०:४७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।