द्वन्द्व निर्देशक उदयसँग हिजोको कुरा : त्यो बेला मिथुन चक्रवर्तीसँग पैसा नहुँदा दुई सय रुपैयाँ दिएको थिए

काठमाडौं : पुराना द्वन्द्व निर्देशक हुन् उदय सिंह बोहोरा। उमेरले ६८ वर्ष पुगेका उनले नेपाली तथा हिन्दी फिल्ममा केही वर्ष द्वन्द्व निर्देशकका रूपमा काम गरे। जन्म नेपालमा भए पनि उदयको कर्म भारतको मुम्बईमा थियो। अछाममा जन्मिएका बोहोरालाई उनका आमा-बुबाले कक्षा २ पढ्दै गर्दा मुम्बई लगेका थिए। विस्तारै उनी उतै रमाउन थाले। उनले भारतमा मार्शल आर्टमार्फत पनि राम्रै ख्याति कमाए।
वि.सं. २०३८ मा काठमाडौं आएपछि उनले पहिलो फिल्म आदर्शनारी मा काम पाएका थिए। पछिल्लो समयमा उनले विजय लामा, शिव श्रेष्ठ, हरिहर शर्मा र भुवन केसीलगायतलाई द्वन्द्व सिकाएका छन्।
हाल उनी प्यारालाइसिसको समस्याका कारण कोटेश्वरस्थित आफ्नै घरमा आराम गरिरहेका छन्। बिरामी अवस्थामा रहेका उदयले यत्तीकै बसिरहेका भने छैनन्। नयाँ फिल्म बनाउने सपना बुनिरहेका छन्।
उनै उदयले जीवनमा भोगेका, देखेका र अनुभव गरेका कुरालाई उनले उकेराको साप्ताहिक स्तम्भ ‘हिजोको कुरा’ मा आफ्ना कुरा साटेका छन्।
भारतमा मार्शल आर्टमार्फत ख्याति कमाए
म अछामको मंगलसेन नगरपालिकामा जन्मिएको हुँ। मेरो जन्म २०१५ सालमा भयो। तीन दाजुभाइमध्ये म माइलो छोरो हुँ।
गाउँमै साधारण लेखपढ गर्दै गर्दा म इन्डिया पुगे। गाउँकै स्कुलमा दुई कक्षा पढेपछि मैले बम्बई, महाराष्ट्रको मारवाणी हाइ स्कूलमा पढाई सुरु गरेँ। त्यहीँ मैले जयहिन्द कलेजबाट ब्याचलर डिग्री पनि हासिल गरेँ। पहिले मुम्बईलाई बम्बई भन्थेँ।
त्यहाँ बस्दा मैले मार्शल आर्ट पनि सिकेँ र राम्रो विद्यार्थी बनेँ। करिब ४० वर्षअघि म महाराष्ट्रको ब्याल्क बेल्ट च्याम्पियन पनि बनेँ। त्यही समयमा सन् १९७६ मा सालीमार फिल्ममा काम गर्ने अवसर पाएँ।
यो फिल्मका निर्देशक कृष्ण शाह थिए। अधिकांश कलाकार हलिउडका थिए भने करिब ५० प्रतिशत भारतीय थिए। धर्मेन्द्र, सम्मी कपूर जस्ता कलाकार पनि यस फिल्ममा थिए। कलाकारको लागि अडिसन दिँदा नेपालको तर्फबाट म मात्र सहभागी थिएँ। यसअघि मैले सानातिना भूमिकामा अभिनय गरेको थिएँ, तर ठूलो फिल्ममा पहिलो पटक सालीमार मा अभिनय गरेँ।
त्यसपछि मैले मुख्य भूमिका पाएको अर्को फिल्म पाँच खेलाडी हो। यसमा पाँच जना हिरो थिए। बन्दि प्रधान, श्याम प्रधान र म नेपाली थिए, बाँकी दुई जना भारतीय थिए। यो फिल्ममा मैले पहिलोपटक हिरोको रूपमा अभिनय गर्ने मौका पाएँ।
एक्सन ड्रेनिङ सिकाउने मेरो गुरु मोहन सेहगल थिए। उहाँ त्यसबेला टप डिरेक्टरका रूपमा परिचित हुनुहुन्थ्यो।
द्वन्द्व निर्देशन गर्छु भन्दा ज्यान हेरेर पत्याएनन्
म २०३८ सालमा काठमाडौं आएको हुँ। हिन्दी र अछामी भाषा मात्र बोल्थेँ। ज्यान पनि दुब्लो थियो। काठमाडौं आएपछि हेम लामाले आफ्नो फिल्म आदर्शनारी का लागि द्वन्द्व निर्देशक खोजिरहेको खबर पाएँ।
हेम लामाको अफिस दरबारमार्गमा थियो। अफिसको नाम हेम ओभरसियस थियो। म अडिसन दिन त्यहाँ पुगेँ। यस फिल्मका निर्देशक चेतन कार्की थिए। अडिसनका दिन मलाई दुब्लो-पातलो देखेर, नेपाली भाषा नजान्दा, उनीहरूलाई लाग्यो कि म काम गर्न सक्दिनँ। उनीहरूले भने, ‘हामीलाई बलियो, मसुर खालको फाइट निर्देशक चाहिएको हो। तपाई जस्तो लुरे मान्छे के गर्न सक्नुहुन्छ?’
मैले भने, ‘मेरो अडिसन त लिनुहोस्, सक्छु कि सक्दिनँ।’ मेरो कुरा सुने पनि उनीहरूले पत्याएनन्। त्यसपछि म अफिसमै मेरो फाइट कौशल देखाउन थालेँ। उल्टी-सुल्टी, जिम्नास्टिक, सबै।
मेरो कौशल देखेपछि चेतन कार्की र हेम लामासहित बंगाली क्यामेरामेन सबै चकित भए। हेम लामाले तुरुन्तै मलाई ५ हजारको चेक थमाए।
त्यसपछि हेम लामाले फिल्मका ४० जना कलाकारलाई फाइट सिकाउन मलाई जिम्मा दिए। त्यस समयमा विजय लामा, अंशु माला शाही, उज्जल घिमिरे, सुशिल खड्का लगायत सबैलाई मैले फाइट ट्रेनिङ दिएको थिएँ।
हेम लामाले दिएको ५ हजार त त्यतिबेला ठूलो रकम थियो। म डेढ सय रुपैयाँको भाडामा मैतीदेवीमा बस्दथेँ। त्यसबेला ११–१२ हजारमा सानो घर जग्गा पनि पाइन्थ्यो। पछि मैले कोटेश्वरमा ४ आना जग्गा किन्दा ६० हजार परेको थियो।
यसपछि नीर शाहको फिल्म बासुदेव मा पनि काम पाएको थिएँ। उहाँले आदर्शनारी को सुटिङ हेरेर मेरो काम देख्नुभयो। मसँग मुम्बईमा भेट पहिले नै भइसकेको थियो। उहाँले नेपालमै बसेर फिल्म बनाउन र काम गर्न सल्लाह दिनुभएको थियो। त्यसबेला नेपालमा फाइट निर्देशक कोही थिएन, म एक्लो थिएँ।
फिल्म बासुदेव मा कृष्ण मल्ल हिरो हुनुहुन्थ्यो। उहाँलाई पाइट ट्रेनिङ मैले दिएको थिएँ।
फाइटमा शिव उत्कृष्ट, भुवन कमजोर
नेपाल आएपछि मैले धेरै कलाकारलाई फाइट ट्रेनिङ दिएको थिएँ। पहिलो फिल्ममा विजय लामा हिरो थिए, त्यसैले उनलाई फाइट सिकाउनुपर्ने भयो। त्यसपछि रविन्द्र खड्का, शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, भुवन केसी, हरिहर शर्मा, रमेश उप्रेती लगायत थुप्रै कलाकारलाई मैले प्रशिक्षण दिएको थिएँ।
त्यसमा शिव श्रेष्ठ अलिक मेहनती हुनुहुन्थ्यो। उहाँले अहिले पनि मलाई धेरै मान्नुहुन्छ। मेरो विचारमा नेपालको एक्सन हिरोमा दुई जनालाई मान्न सक्छु- शिव श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठ। यी दुई उत्कृष्ट थिए। भुवन केसीलाई मैले कति गराएँ, तर उहाँले कहिल्यै सिक्नुभएन। उहाँलाई फाइट गर्न आउदैन।
श्रीकृष्ण श्रेष्ठको कुरा गर्दा, उहाँले भनेजस्तो एक्सन गर्न सक्नुहुन्थ्यो। डान्स र फाइटमा पनि उत्कृष्ट। स्वभावले सबैलाई माया गर्नुहुन्थ्यो। उहाँ कहिल्यै आफूले जान्ने कुरा अरुलाई देखाउन चाहँदैनथे।
फिल्म बासुदेव का लागि मैले हरिहर शर्मालाई एक वर्ष फाइट सिकाएँ। सुरुमै खुट्टा उठाउन समेत नसक्ने मान्छेलाई मैले फाइटर बनाएको थिएँ। पछि उहाँ यति राम्रो फाइट गर्न थाल्नुभयो कि कुरा नगरौँ। अहिले पनि उहाँ फुर्तिलो देखिनुहुन्छ।
बासुदेव मा हरिहर शर्माले मार्ने सिन थियो, जसमा नीर शाहलाई चक्कु हान्नुपर्ने थियो। तर चक्कु देख्दा नीर शाह डराउने। त्यसपछि मैले फाइटको दृश्य परिवर्तन गर्नुपर्यो।
यो किस्सा पनि रमाइलो छ। हरिहर शर्मालाई मैले भनेँ, ‘हरिहरजी, तपाईको टाइ निकाल्नुहोस्।’ उहाँले भन्नुभयो, ‘म किन निकालूँ, निकाल्दिन म।’ उहाँ पहिलो दिनको फाइट सिनमा मलाई चिन्नुभएन। तर नीर शाहले आएर भन्नुभयो, ‘फाइट डाइरेक्टर साब हो भाई, उहाँले जे भन्नुहुन्छ, त्यति गर्नु।’
त्यसपछि हरिहरले टाइ स्वात्तै निकाले र नीर शाहलाई भने, ‘यता बस्नुहोस्, म केही गर्छु।’ प्रेम उपाध्याय क्यामेरामेन, जसले एङ्गल मिलाएर सिन खिच्नुभएको थियो। त्यो फिल्मको बेस्ट सिन त्यही भयो-अन्तिममा मार्ने सिन।
मैले देखेको समयमा अलिक घमण्डी हरिहर शर्मा लाग्थ्यो। उहाँ आफैँमा ‘मै हुँ’ भन्ने। निकै फुर्तिला। सुरुमा मलाई गन्नै नखोज्ने। तर नीर शाहले भनेपछि ठाउँमा आउनुभयो। पछि मिलनसार बन्नुभयो।
तर उहाँ बाहेक सबैभन्दा घमण्डी देखिएको हिरो भुवन केसी। प्राक्टिस गर्न आउनु भन्यो भने म पाकिस्तानी फिल्म खेलिरहेको छु भन्ने।
फिल्म २५ वसन्त मा शिव श्रेष्ठ एन्टि हिरो हुनुहुन्थ्यो, हिरो भने भुवन केसी। भुवनलाई मैले कति राम्रो पञ्चहरू सिकाए, तर अन्तिममा एक किक हान्न त पनि आउँदैनथ्यो। केही पनि आउँदैन थियो।
त्यसबेला शिव श्रेष्ठ बाठो मान्छे। उहाँले गुरु, उहाँलाई दिएको सबै फाइट म गर्छु भन्नुभयो। मलाई पनि रिस उठिरहेको थियो कि भुवनले पारा नल्याएकोमा। त्यसपछि मैले त्यो सबै फाइट शिवलाई नै दिनु पर्यो।
फाइटको दृश्य परिवर्तन भएपछि नीर शाहलाई भुवनले गुनासो पोख्नुभएछ, ‘यो फाइट डाइरेक्टर भएन। मलाई त एन्टि रोलको दियो।’ नीर शाहले बोलाएपछि मैले भने – ‘दुई घण्टा भइसक्यो, मैले सिकाएको, तर केही आउँदैन।’
सुटिङको क्रममा शरीरमा आगो लाग्यो, टाउकोको कपाल नै जल्यो
कोटेश्वरमा फिल्म आदर्शनारी को सुटिङ चलिरहेको थियो। त्यहाँ आगो लागेको घरबाट हिरोइनले हाम फाल्नुपर्ने दृश्य थियो। नेपालमा डुब्लिकेट अभिनय गर्न सक्ने कोही कलाकार थिएनन्।
त्यसैले मैले आफैले अंशु माला शाहीको लुगा लगाएर डुब्लिकेटको रूपमा हाम फाल्नुपर्ने भयो। सुटिङको क्रममा मेरो शरीरमा आगो लाग्यो र टाउकोको कपाल नै जल्यो।
डर त मलाई कमै लाग्यो, किनभने म बानी परिसकेको थिएँ। तर दृश्य हेर्ने हिरोइन अत्तालिएकी थिइन्। उनी मलाई जलेको देखेर निकै डराएकी थिइन्।
मिथुन चक्रवर्तीलाई दुई सय दिएको थिए
म मुम्बईमा फिल्मका लागि संघर्ष गरिरहेको थिएँ। त्यतिबेला मिथुन चक्रवर्ती सरकारको खोजीमा थिए। उनी नक्सल आन्दोलनसँग नजिक थिए- नेपालका तत्कालीन माओवादी जस्तो समूह। जिन्दा या मरेका वान्टेडमा परेका उनी कलकत्तामा लुकेका थिए।
त्यस समयमा मेरो साथी बिक्की बंगेरा उनको बेस्टफ्रेन्ड थिए। मैले मार्शल आर्टको खेलाडी भएको कारण उनलाई चिनेको थिएँ। त्यसै क्रममा मैले उनलाई २ सय रुपैया दिएको थिएँ। कारण-उनी पैसाको अभावमा थिए र वान्टेडमा परेका कारण कहिले मारिन्छन् भन्ने थाहा थिएन।
उक्त समयको हिन्दी फिल्म पतिता मा उनले रगत बगाउँदै अभिनय गरेका थिए। पछि उनी साधारण जीवनमा फर्किए। त्यसपछि उनले मलाई ल्याब स्टुडियोमा काम गर्न भनेका पनि थिए।
तर मैले त्यस समय काम लिइनँ। किनभने मैले उनलाई २ सय रुपैया दिएको व्यक्ति हुँ भन्ने गर्वले गर्दा फुर्ती लगाएँ।
त्यो घमण्डकै कारण मैले उनको फिल्ममा काम पाइनँ। उनलाई फिल्ममा आउन वा आउन नआउन थाहा छैन। त्यो समय मृगया भन्ने फिल्म बनिरहेको थियो, जसमा उनी नक्सलसँग सम्बन्धित थिए।
यो फिल्मले पछि उनलाई पार्टीबाट अलग गरेर फिल्म लाइनमा प्रवेश गरायो। फिल्म लाइनमा आउनुभन्दा अघि उनी कलकत्तामा वान्टेडमा परेका थिए। मैले त्यो देखेको थिएँ, तर फिल्ममा काम गर्न पाइनँ।
भदौ १९, २०८२ बिहीबार १९:२९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।