सामाजिक संजाल बन्द गर्ने सरकारी निर्णयले ज्ञानेन्द्र शाहको शासनकालको झल्को दियो : अनलाइन पत्रकार संघ

सामाजिक संजाल बन्द गर्ने सरकारी निर्णयले ज्ञानेन्द्र शाहको शासनकालको झल्को दियो : अनलाइन पत्रकार संघ

काठमाडौं : सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेकोप्रति अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण जनाएको छ।

नागरिकले व्यक्तिगत, सामूहिक तथा संस्थागत रूपमा अभिव्यक्तिको माध्यम बनाएका फेसबुक, युट्युब, एक्सजस्ता सामाजिक सञ्जाल बन्द गर्ने निर्णय हचुवाको भरमा गरिएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सोझो प्रहार भएको संघको ठहर छ। 

अनलाइन पत्रकार संघले यस निर्णयलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मोबाइल सेवा बन्द गराइएको घटनासँग तुलना गर्दै यसले लोकतान्त्रिक मूल्यमा ठेस पुग्ने आशंका व्यक्त गरेको छ।

‘निर्वाचन प्रक्रियाबाट आएको र लामो लोकतान्त्रिक इतिहास बोकेका दलहरुको सरकारले यस्तो तानाशाही मार्ग अवलम्बन गर्ने संकेत देखिएको छ। अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा कुनै सम्झौता गर्न सकिँदैन। सूचीकरणको नभएको नाममा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गैरसंवैधानिक, आपत्तिजनक र लोकतन्त्र विरोधी छ,’ संघका अध्यक्ष शिवप्रसाद सत्यालले जारी गरेको विज्ञप्तीमा भनिएको छ। 

अनलाइन पत्रकार संघले सरकारले तत्काल आफ्नो निर्णय सच्याउनुपर्ने जोड दिँदै, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आह्वान गरेको छ।

भदौ १९, २०८२ बिहीबार १८:१५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।