सार्वजनिक सेवालाई प्रभावकारी बनाइनुपर्छः सभापति देउवा

सार्वजनिक सेवालाई प्रभावकारी बनाइनुपर्छः सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक सेवालाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर सुशासन कायम गर्न निजामती कर्मचारी वर्गको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियनको ३५औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले लोकतान्त्रिक परिवर्तनको भावनाअनुसार समयसापेक्ष सुधार आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार सबल र सक्षम निजामती सेवा बनाउन ट्रेड युनियनहरूले अग्रसर भएर काम गर्नुपर्ने आवश्यकता छ।

‘विगतका कमजोरी सच्याउँदै सरकारले दिने सेवा चुस्त र दुरुस्त बनाउन तपाईंहरू सक्रिय हुनुपर्छ,’ देउवाले भने। उनले कर्मचारी युनियनलाई राष्ट्र सेवक कर्मचारीहरूको अभिभावकका रूपमा नेतृत्वदायी भूमिकामा रहनुपर्ने आवश्यकता औंल्याए।

सभापति देउवाले सुशासन सुनिश्चित गर्न हरेक निकायमा इमानदार र कर्तव्यनिष्ठ कर्मचारी आवश्यक रहेको धारणा राखे। साथै, कर्मचारी नियुक्तिमा पेशागत दक्षता, इमानदारी र सेवामुखी दृष्टिकोणलाई प्राथमिकता दिन युनियनको बलियो उपस्थिति हुनुपर्ने बताए।

उनका अनुसार कर्मचारीका आधारभूत आवश्यकतासँग जोडिएका समस्यामा सरकारको ध्यान जानेछ र आफ्नो पार्टीले पनि निरन्तर सहयोग गर्नेछ। लोकतान्त्रिक आन्दोलनमा कर्मचारी युनियनको अग्रणी भूमिका स्मरण गर्दै उनले निजामती सेवा ऐन, २०६४ ल्याउन खेलेको योगदानलाई विशेष महत्वपूर्ण भने।

कार्यक्रममा युनियनका कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामती सेवा विधेयकमा देखिएका कमजोरी सच्याएर विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिए। निवर्तमान अध्यक्ष गोपालप्रसाद पोखरेलले संवैधानिक निकायलगायतका महत्वपूर्ण तहमा लोकतान्त्रिक सोच भएका कर्मचारीहरूको उपस्थिति अझै बलियो हुन नसकेको टिप्पणी गरे।

सो अवसरमा सभापति देउवाले ‘कर्मचारी’ नामक पुस्तक विमोचन गरे। कार्यक्रममा निवर्तमान अध्यक्ष पोखरेल, उपसचिव दिपक रेग्मीसहित ४२ व्यक्तित्वलाई कदरपत्रसहित सम्मान गरिएको थियो।

भदौ १९, २०८२ बिहीबार १६:४९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।