नेपाल र अमेरिकाबीच विश्वासमा आधारित ऐतिहासिक सम्बन्ध छ : परराष्ट्रमन्त्री देउवा

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रहिआएको बताएकी छन्।
संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुई स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न बिहिबार आयोजित सामारोहमा मन्त्री डा राणाले उक्त सहयोग नेपाल र अमेरिकाबीचको दिगो मित्रता र सहकार्यको प्रतिक भएको बताइन्।
अमेरिका प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरण, मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा क्षमता विकासमा नेपालको एक विकास साझेदार र भरपर्दो मित्र रहेको उनले स्पष्ट पारिन। मन्त्री डा राणाले अमेरिकासँगको नेपालको मित्रता र सहकार्य सधैँ शान्ति, स्थायित्व तथा मानव सेवाको उद्देश्यमा समर्पित रहेको उल्लेख गर्दै नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि अमेरिकी सरकार र अमेरिकी जनतालाई धन्यवाद दिइन।
मन्त्री डा राणाले निरन्तर समर्पण र अनुशासनका साथै राष्ट्रियता, विश्व शान्ति तथा सुरक्षाप्रति अटूट प्रतिबद्धता प्रदर्शन गर्दै आएकामा नेपाली सेनाको प्रशंसा गरिन्।
समारोहमा परराष्ट्रमन्त्री डा राणा, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देललाई अमेरिकी राजदूत डिन आर थम्पसनले ती स्काइ ट्रक हस्तान्तरण गरेकी थिइन्। स्काइ ट्रक विपद् र उद्धारका क्रममा सेवा दिन तथा एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिनेछ।
भदौ १९, २०८२ बिहीबार १४:२८:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।