बागमती प्रदेशका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा

काठमाडौं : बागमती प्रदेशका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा हुने भएको छ।
प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम)को अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जानकारी गरायो।
मन्त्रालयकी सह-प्रवक्ता रविता कार्कीद्वारा हस्ताक्षरित सूचनामा बागमती प्रदेश राजपत्रमा यसअघि नै प्रकाशित निर्णयअनुसार बिदा दिइएको उल्लेख छ।
चेपाङ समुदायको बाक्लो बसोबास रहेका यी जिल्लाहरूमा उनीहरूको मौलिक पर्वलाई सम्मान गर्दै प्रदेश सरकारले बिदाको घोषणा गरेको हो।
उक्त दिन तीन जिल्लाका सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा शिक्षण संस्थाहरू बन्द रहने मन्त्रालयले जनाएको छ।
भदौ १९, २०८२ बिहीबार १४:११:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।