प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदमा प्रतिपक्षीको प्रश्न, जीएसआईमा सहमतिको विषय स्पष्ट पार्न माग

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा नेपाल चीनको ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ’ (जीएसआई) मा सहमत भएको विषयलाई लिएर आजको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षका सांसदहरूले प्रश्न उठाएका छन्।
उनीहरूले यस विषयले नेपालको असंलग्न परराष्ट्र नीतिमाथि गम्भीर प्रश्न खडा गरेको भन्दै प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका छन्।
बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबराले चिनियाँ सञ्चारमाध्यममा नेपाल जीएसआईमा सहमत भएको समाचार आएको उल्लेख गर्दै यो नेपालको परराष्ट्र नीतिको विपरीत भएको बताए।
‘यो कुरा सत्य हो भने नेपाललाई आउने दिनमा घातक हुनसक्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले सदनमा आएर यो विषयलाई प्रष्ट पार्नुपर्छ।’
यस्तै, एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डेले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि चिनियाँ पक्षले जारी गरेको वक्तव्यमा नेपाल जीएसआईमा सहमत भएको उल्लेख भए पनि भ्रमण दलका मन्त्रीहरूले त्यसको खण्डन गरिरहेको भन्दै सत्य के हो भनी प्रश्न गरे।
पाण्डेले प्रधानमन्त्री ओली चीनले जापानमाथि विजय हासिल गरेको अवसरमा आयोजित परेडमा सहभागी भएकोमा पनि आपत्ति जनाए।
‘जापान नेपालको प्रमुख विकास साझेदार देश हो। जापानले आत्मसमर्पण गरेको अवसरमा आयोजित परेडमा प्रधानमन्त्री भाग लिनु नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत भएन?’, उनले प्रधानमन्त्रीसँग जवाफ माग गरे।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले चीन भ्रमणपछि नेपाल र चीनका परराष्ट्र मन्त्रालयले जारी गरेका विज्ञप्ति आपसमा बाझिएको बताए।
‘चीनको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा नेपालले जीएसआईलाई समर्थन गरेको लेखिएको छ तर लिपुलेकको कुरा छैन,’ सिंहले भने, ‘हाम्रो परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा जीएसआईको कुरा छैन तर लिपुलेक उल्लेख छ। संविधानले असंलग्न परराष्ट्र नीति भन्छ तर चीनको विज्ञप्ति हेर्दा हामी सैन्य संगठनको सदस्य बन्न लागेको देखिन्छ।’
सांसदहरूले नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई ख्याल नगरी सरकारले परराष्ट्र नीतिमा विचलन ल्याउन खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली चीनले आयोजना गरेको सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिएर हिजो राति मात्र स्वदेश फर्किएका हुन्।
भदौ १९, २०८२ बिहीबार १३:४३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।