गणतन्त्रमा ‘मोरल पुलिसिङ’ : विहान खोक्दा अनि राति अबेर कुकरमा सिट्टी लगाए हुनसक्छ तीन लाख जरिवाना

गणतन्त्रमा ‘मोरल पुलिसिङ’ : विहान खोक्दा अनि राति अबेर कुकरमा सिट्टी लगाए हुनसक्छ तीन लाख जरिवाना

काठमाडौं : के तपाईं बिहान उठेर नित्यकर्म गर्दा खोक्नुहुन्छ? वा बिहानको खाजा बनाउन प्रेसर कुकरमा सिट्टी लगाउनुहुन्छ? यदि त्यसो हो भने होसियार! अब तपाईंलाई तीन लाख रुपैयाँसम्म जरिवाना लाग्न सक्छ।

यो कुनै ठट्टा होइन, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जारी गरेको ’शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सम्बन्धी सूचनाले यस्तै सन्देश दिएको छ, जसले अहिले सामाजिक सञ्जालमा ठूलो बहस सिर्जना गरेको छ।

प्रहरीले सार्वजनिक गरेको सूचनाको उद्देश्य ध्वनि, धुवाँ र फोहोरमुक्त सभ्य समाजको पहिचान स्थापित गर्नु भनिएको छ। गर्भवती महिला, बिरामी, वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा ध्वनि प्रदूषणले पार्ने नकारात्मक असरलाई कम गर्ने अभियानको लक्ष्य देखिन्छ।

तर, सूचनामा उल्लेख गरिएका केही बुँदाहरूले नागरिकको व्यक्तिगत जीवन र सामान्य क्रियाकलापमाथि नै प्रहरीले हस्तक्षेप गर्न खोजेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

के-के छन् प्रहरीका अस्वाभाविक नियम?
अभियानलाई सफल बनाउन प्रहरीले नागरिकहरूलाई विभिन्न आग्रह गरेको छ। जसमध्ये केही बुँदाहरू अत्यन्तै अस्वाभाविक र अव्यावहारिक देखिन्छन्।

बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने, खकार्ने नगरौं, राती अबेर शौचालयको फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाऔं, राती अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिट्टी लगाउने कार्य नगरौं, भान्सामा भाँडाकुँडाको ठूलो आवाज उत्पन्न नगरौं अनि फोन कल गर्दा आवाज कम गरौं वा हेडफोन प्रयोग गरौं।

यी बुँदाहरूले सार्वजनिक शान्तिभन्दा पनि नागरिकको घरको भान्सा, शौचालय र सुत्ने कोठाभित्र प्रहरीले निगरानी गर्न खोजेको जस्तो देखिन्छ।

राम्रा पक्ष पनि छन्, तर जरिवानाको त्रास
सूचनामा केही सकारात्मक र आवश्यक आग्रहहरू पनि छन्। जस्तै, राती अबेरसम्म चर्को स्वरमा म्युजिक बजाएर नाचगान नगर्ने, पार्टी वा जमघट गरेर छिमेकीलाई असहजिलो हुने गरी नगर्ने, घर बाहिर फोहोर नफाल्ने, र आफूले पालेका कुकुर, कुखुरा जस्ता जनावरबाट छिमेकीलाई अशान्ति हुन नदिने जस्ता बुँदाहरू राम्रा र  प्रशंसनीय छन्।

तर, सबैभन्दा बढी विवाद सूचनाको अन्त्यमा उल्लेख गरिएको कानुनी व्यवस्थाले सिर्जना गरेको छ। सूचनामा भनिएको छ, ‘ध्वनी प्रदुषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले त्यस्तो कार्यमा बन्देज लगाई ३ लाख रुपैयाँ सम्म जरिवाना गर्नसक्छ।’

के अब बिहान खोक्दा वा प्रेसर कुकरको सिट्टी लाग्दा छिमेकीले उजुरी गरेमा प्रहरीले ३ लाख जरिवाना तिराउँछ? सामाजिक सञ्जालमा नागरिकहरूले प्रश्न गरिरहेका छन्, ‘के प्रहरीसँग अब नागरिकको भान्सा र शौचालयमा गएर ध्वनि नाप्ने मिटर पनि छ?’

यस बारेमा उकेराले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एनएसपी शेखर खनालले आत्मअनुशासनका लागि नियम ल्याउनुपरेको बताए। कार्यालयमा यस्ता उजुरीहरू धेरै आएको समेत दाबी गरे।

‘छिमेकीलाई गाह्रो हुने गरी आगो बाल्दिराखेका हुन्छन्। छिमेकीको घरमा धुँवा छिरेको छ छैन ख्याल गरेको हुँदैन। राति सुतेको अवस्थामा ठूलो म्युजिक बजाएर पार्टी गरेका हुन्छन् त्यस्तोमा ख्याल गरेको हुँदैन,’ उनले भने, ‘विदेशतिर तल्लो तलाको मान्छे निदाएको बेलामा फ्लस पनि गर्दैन रहेछन्। सेल्फ डिसिप्लेन रहेछ। त्यस्तो कम्लेन आयो भने प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित निकायमा पठाउछाैँ।’

उनले आफ्नो सुविधाको लागि मानव अधिकार हनन गर्न नपाइने भन्दै थपे, ‘तर कसैलाई गाह्रो भएको छैन भने प्रहरी खोज्दै जाँदैन। यसमा प्रहरी जेलमा हाल्ने लगायतको काम गर्दैन। प्रहरीले यसमा मुद्दा पनि चलाउदैन। त्यो गर्ने स्थानीय तहले हो।’

भदौ १९, २०८२ बिहीबार ११:१८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।