स्वास्थ्य बीमा बोर्डको सर्भर डाउन, लुम्बिनी प्रादेशिक अस्पतालमा सयौँ बिरामी मर्कामा

स्वास्थ्य बीमा बोर्डको सर्भर डाउन, लुम्बिनी प्रादेशिक अस्पतालमा सयौँ बिरामी मर्कामा

बुटवल : स्वास्थ्य बीमा बोर्डको सर्भरमा आएको समस्याका कारण लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएका सयौँ बिरामीले सास्ती खेप्नुपरेको छ।

विगत एक सातादेखि सर्भरले काम नगर्दा बीमा कार्डमार्फत उपचार गराउन आउने सेवाग्राही उपचार नपाएरै घर फर्किन बाध्य भएका छन्।

नवलपरासीको सुनवलबाट दिदीकी छोरी सलिना पंगेनीको घाँटीको उपचारका लागि बुधबार पुगेकी दुर्गा ढकाल उपचार नपाएरै फर्किन बाध्य भइन्। चिकित्सकले रगत परीक्षण गर्न सुझाए पनि सर्भर नचल्दा बिल काट्न नपाएपछि उनी निराश हुँदै फर्किइन्।

‘बिहान नौ बजे नै अस्पताल आएका थियौँ, घर फर्किने बेलासम्म पनि सर्भर चलेन,’ उनले भनिन्, ‘बिल काट्न नपाएपछि रगत परीक्षण नै भएन। अझै कति समय कुर्नुपर्ने हो, थाहा छैन।’

यो समस्या दुर्गाको मात्र होइन। प्यूठानबाट ७७ वर्षीया आमा कमलेश्वरी गौतमको उपचारका लागि आएका एकराज गौतम पाँच दिनदेखि अस्पताल धाइरहेका छन्।

जिल्ला अस्पतालले रिफर गरेपछि बुटवल आएका उनी होटलमा बस्दै आमाको उपचारका लागि दौडधुप गरिरहेका छन्।

‘अस्पताल आएपछि आमाको सबै परीक्षण गराएर घर लैजाने सोचेको थिएँ, तर कहिले के मिल्दैन, कहिले के,’ उनले गुनासो गरे, ‘बिहान ७ बजे आउने र दिउँसो ३ बजे फर्किने दैनिकी जस्तै भएको छ।’

यी दुई प्रतिनिधि पात्र मात्र हुन्। बुधबार दिउँसो अस्पतालको स्वास्थ्य बीमा काउन्टरमा करिब सय जना सेवाग्राही सर्भर चल्ने प्रतीक्षामा थिए। बिहान ६ बजेदेखि नै लाइनमा बसेका उनीहरू दिउँसो बेलुकीसम्मै बिल काट्न नपाएर छटपटाइरहेका थिए।

अस्पतालका स्वास्थ्य बीमा शाखा प्रमुख दीपेन्द्र पौडेलले विगत एक सातादेखि सर्भरमा गम्भीर समस्या देखिएको बताए। उनका अनुसार यो समस्याबारे पटक-पटक स्वास्थ्य बीमा बोर्डलाई जानकारी गराउँदा पनि समाधान भएको छैन।

‘यो समस्या यसअघि साउनमा पनि आएको थियो। बोर्डले मर्मत गरेको भने पनि फेरि उस्तै भयो,’ पौडेलले भने, ‘बोर्डले सर्भरको समस्या समाधान नगर्दा यहाँ आउने हजारौँ सेवाग्राही प्रभावित भएका छन्, जसको अपजस हामीले खेप्नुपरेको छ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले पनि सर्भर डाउनबारे बोर्डलाई जानकारी गराइएको र समस्या समाधानका लागि पत्राचार गरिएको बताए।

‘सेवाग्राहीले समयमै उपचार नपाउँदा हामी दुःखी छौँ। यो समस्या छिटोभन्दा छिटो समाधान होस् भन्ने हाम्रो चाहना हो’, उनले भने।

तर, सेवाग्राही र अस्पतालले सास्ती भोगिरहँदा स्वास्थ्य बीमा बोर्ड भने समस्याबारे अनभिज्ञ देखिएको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लले सर्भर डाउनबारे आफूलाई जानकारी नभएको बताए।

‘सर्भरमा समस्या भए प्राविधिक शाखामा जानकारी आउँछ, तर यसबारे मलाई थाहा भएन’, उनले भने।

उनले समस्या अस्पतालकै उपकरण वा प्रविधिका कारण पनि हुन सक्ने आशंका व्यक्त गरे।

लुम्बिनी र गण्डकी प्रदेशका १६ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक करिब दुई हजार जना आउँछन्। तीमध्ये आधाभन्दा बढी स्वास्थ्य बीमाअन्तर्गत सेवा लिनेहरू हुन्छन्।

अस्पतालको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै करिब १ लाख ६० हजार जनाले बीमा कार्यक्रममार्फत सेवा लिएका थिए, जसबापत अस्पतालले ३५ करोड रुपैयाँ बराबरको उपचार सेवा प्रदान गरेको थियो।

भदौ १९, २०८२ बिहीबार १०:२९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।