दीपक-सन्तोषको ‘खेताला युद्ध’मा अडियोदेखि गुण्डा लगाउनेसम्मका आरोप-प्रत्यारोप

काठमाडौं : पछिल्लो दुई दिनदेखि नेपाली चलचित्र क्षेत्रमा ‘खेताला संस्कृति’को विवादले उग्र रूप लिएको छ।
गत वर्ष दशैंमा सुरू भएको निर्माता तथा कलाकार दीपकराज गिरी र निर्माता सन्तोष सेनबीचको शीतयुद्ध अब सामाजिक सञ्जालमा छताछुल्ल भएको छ, जहाँ एकअर्कालाई नियोजित रूपमा फसाउन खोजेको, गुण्डा लगाउने धम्की दिएको र करोडौँ खर्च गरेर गालीगलौज गराएको जस्ता गम्भीर आरोप-प्रत्यारोप सतहमा आएका छन्।
यो विवादको आगोमा घिउ थप्ने काम एक गोप्य अडियो रेकर्डले गरेको छ, जसलाई लिएर दुवै पक्षले आ-आफ्नो बचाउ गर्दै एकअर्कालाई ‘साइबर स्याल’को नाइकेको संज्ञा दिएका छन्।
सन्तोषको आक्रोश : मलाई सिध्याउन ५० लाख लगाउने रे!
विवादको पछिल्लो शृङ्खला बुधबार साँझ निर्माता सन्तोष सेनले लेखेको लामो र आक्रोशपूर्ण फेसबुक स्टाटसबाट सुरू भयो। आफ्नो आगामी चलचित्र ‘बलिदान’लाई नियोजित रूपमा सिध्याउन खोजिएको आरोप लगाउँदै उनले दीपकराज गिरीप्रति सांकेतिक रूपमा हमला गरे।
‘दाई दर्शकलाई खेतला, साइबर स्याल भन्नुहुन्थ्यो, तपाईंको पो खेतला रहेछन र हाम्रो दर्शकलाई त्यही सोच्नुभयो,’ उनले लेखेका छन्, ‘सन्तोष सेनलाई गाली गर्न ५-१० लाख खर्च गरियो, अरु ५० लाख लगाउन पर्छ भन्नुहुन्छ.. यो सुनिरहँदा साँच्चै आचार्य लाग्यो।’
आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गर्दै सेनले ‘भष्म हुने’ कसमसमेत खाएका छन्।
उनले दीपक समूहबाट ‘कहिले गुण्डा लगाउनुपर्छ, कहिले हेल्मेटै-हेल्मेटले हान्नुपर्छ’ जस्ता धम्की आएको र आफ्नो चलचित्र ‘बलिदान’लाई जसरी पनि सकाउने योजना बुनिएको दाबी गरे।
सेनले आफूलाई नियोजित रूपमा फसाउन शून्य लाइक भएका फेक पेजबाट आफ्नै चलचित्रको सामग्री पोस्ट गरी आफैँले अपशब्द लेखेर स्क्रिनसट लिई साइबर ब्युरोमा उजुरी दिने प्रपञ्च रचिएको आरोप लगाए।
यस घटनाले आफ्नो परिवारमा गहिरो तनाव सिर्जना भएको र आमाले ‘दुःख दिने चलचित्र क्षेत्र छोडिदेऊ’ भनेर आँखा रसाएको भावनात्मक कुरा पनि उनले उल्लेख गरेका छन्।
दीपकको जवाफ: मेरा छोराछोरीले फिल्म क्षेत्र छोड्नुस् भने
सन्तोष सेनको स्टाटसको २४ घण्टा नबित्दै बिहीबार बिहान दीपकराज गिरीले ‘खेताला संस्कृति र प्रचार गरिएको अडियोको वास्तविकता’ भन्दै लामो स्पष्टीकरणसहित जवाफ फर्काए। उनले आफू पोहोर सालदेखि नै यो ‘खेताला संस्कृति’को सिकार भएको पीडा पोखे।
‘छक्का पञ्जा ५’ को समयमा आफूमाथि निरन्तर गालीगलौज र बहिष्कारको धम्की आएको स्मरण गर्दै उनले लेखेका छन्, ‘मेरो बच्चाहरूले मलाई भने- ड्याडि यो फिल्म क्षेत्र अब छोडिदिनुस्, तपाईंले त यो नेगेटिभिटी सहन सक्नु होला तर हामीलाई चाहिँ गाह्रो भो।’
सार्वजनिक भएको अडियोबारे स्पष्ट पार्दै दीपकले आफूलाई जस्तै समस्या भोगेका अर्का निर्माता रोहित अधिकारीले बोलाएपछि भेट्न गएको बताए।
‘त्यो हाम्रो अडियो भनेर प्रचार गरिएको अडियोमा मैले उसको पीडायुक्त आक्रोश सुनेँ, म खासै बोलेको पनि छैन त्यसमा, मेरो पीडा सुनाएको छु’, उनले भने।
दीपकले उल्टै सन्तोष सेनमाथि आफूहरूलाई पिछा गरेको र मान्छे लगाएर गोप्य रूपमा भिडियो रेकर्ड गराएको गम्भीर आरोप लगाएका छन्।
‘उनले रोहित अधिकारीलाई बिहानदेखि फलो गरेको र हामी बसेको ठाउँमा मान्छे लगाएर आफू बाहिर बसेर प्लानिङ गरेको भिडियो प्राप्त भयो,’ उनले लेखेका छन्, ‘त्यो सीसीटीभी फुटेज र हामीलाई फलो गरेको भिडियो रोहित अधिकारीले केही बेरमा सेयर गर्नेछन्।’
कसरी सुरू भयो विवाद?
यो विवादको बीउ गत वर्षको दशैँमा रोपिएको थियो। दीपक-दीपाको ‘छक्का पञ्जा ५’ प्रदर्शन हुँदा सामाजिक सञ्जालमा एउटा संगठित समूहले फिल्मविरुद्ध नकारात्मक प्रचार गर्दै अर्को फिल्म ‘१२ गाउँ’को प्रशंसा गरिरहेको थियो।
‘१२ गाउँ’ विराज भट्टले निर्माण गरी छोरा समीर भट्टलाई डेब्यु गराएको फिल्म थियो। र, यिनै समीर भट्ट सन्तोष सेनको महत्त्वाकांक्षी प्रोजेक्ट ‘बलिदान’का मुख्य अभिनेता हुन्।
त्यतिबेला ‘१२ गाउँ’लाई चलाउन ‘छक्का पञ्जा’ विरुद्ध नेगेटिभ मार्केटिङ गरिएको प्रस्टै देखिन्थ्यो, जसको असर बक्स अफिसमा समेत पर्यो।
त्यतिबेलै दीपकले एक अन्तर्वार्तामा यसको पछाडि सन्तोष सेनको हात रहेको संकेत गरेका थिए, जसलाई सेनले खण्डन गरेका थिए। ‘१२ गाउँ’ हिट हुँदा त्यसको प्रत्यक्ष फाइदा ‘बलिदान’लाई हुने भएकाले सेनको संलग्नताको आशंका गरिएको थियो।
अब पालो सन्तोषको, बदलाको मुडमा दीपक
गत वर्ष रक्षात्मक देखिएका दीपकराज गिरी यो वर्ष आक्रामक मुडमा छन्। उता, आफ्नो करोडौँ लगानीको फिल्म ‘बलिदान’ दशैँमा प्रदर्शनको तयारीमा रहेका सन्तोष सेन रक्षात्मक बनेका छन्। गत वर्ष ‘छक्का पञ्जा’ले जे भोग्यो, त्यही शैलीमा ‘बलिदान’माथि पनि छिटफुट नकारात्मक टिप्पणी सुरू हुन थालेपछि सेन अत्तालिएको देखिन्छ।
यो विवाद सामाजिक सञ्जालको कमेन्टमा समेत जारी छ। दीपकको स्टाटसमा सन्तोषले कमेन्ट गर्दै रेष्टुरेन्टको पूरा अडियो र भिडियो सार्वजनिक गर्न चुनौती दिएका छन्। जवाफमा दीपकले लेखेका छन्, ‘धन्न हामीलाई फलो गरेर, बाहिर बसेर मान्छे भित्र पठाएको स्वीकार गर्नुभयो, व्यक्तिगत कुराकानी रेकर्ड गराउनुभयो जो कानुनी रूपमा गलत छ!’
एक वर्षसम्म भित्रभित्रै सल्किएको आगो अब डढेलोसरह फैलिएको छ। यसले नेपाली चलचित्र क्षेत्रमा सफलताका लागि स्वस्थ प्रतिस्पर्धाभन्दा एकअर्कालाई सिध्याउने फोहोरी खेल हाबी हुँदै गएको देखिन्छ। चलचित्र प्रदर्शनको संघारमा सुरू भएको यो महाभारतले कसलाई फाइदा पुग्ला, त्यो त समयले नै बताउला, तर यसले समग्र उद्योगको छविलाई भने धुमिल बनाइरहेको छ।
भदौ १९, २०८२ बिहीबार १०:०५:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।