फिल्म चलाउन भित्रियो डनगिरी, साइबर सेनादेखि पत्रकार कुट्नेसम्मको रणनीति

फिल्म चलाउन भित्रियो डनगिरी, साइबर सेनादेखि पत्रकार कुट्नेसम्मको रणनीति

काठमाडौं : दशैँमा फिल्म चलाएर मनग्गे कमाउने रणनीतिमा लागेका फिल्म निर्माताहरू फिल्मको प्रचारमा मात्र हैन, सामाजिक सन्जालमा एकअर्का विरुद्ध साइबर सेना परिचालन गर्नेदेखि पत्रकार कुटाउने रणनीतिसम्ममा उत्रिएको खुलेको छ।

दशैँमा तीन फिल्म बलिदान, हरिबहादुरको जुत्ता अनि माइतीघर लाग्दैछ। हरिबहादुरको जुत्ताको टिम शान्तसँग फिल्मको प्रचारमा लागेको छ। माइतीघर टिम भने सामाजिक सन्जालमा भिड्नेदेखि पत्रकार कुट्नेसम्मको रणनीतिमा देखियो। त्यसमा भद्र कलाकार मानिने दीपकराज गिरी समेत मिसिएको खुल्यो।

माइतीघर फिल्मका निर्माता रोहित अधिकारीले बलिदानविरुद्ध सामाजिक सन्जालमा लेख्न समूह परिचालन गरेको अनि सुत्रटिभीका प्रकाशक केशव खड्कालाई कुटाउन व्यक्तिलाई फोन गरेर निर्देशन दिएको अडियो नै सार्वजनिक भयो।

बुधबार सार्वजनिक अडियो आफ्नो भएको रोहित र दीपकराज गिरीसमेतले स्वीकारेका छन्। बिहीबार गिरीले अडियोबारे आफ्नो स्पष्टिकरण लेख्दै पोहोर दशैँमा आफूले भोगेजस्तै रोहितले भोगेको देखेपछि सान्त्वना दिन गएको दाबी गरेका छन्। तर, अडियोमा रहेको उनको संवादले उनी सान्त्वना मात्र दिन गएको सुनिन्न।

रोहितले पनि बिहीबार एक भिडियो सार्वजनिक गर्दै बलिदानका निर्माता सन्तोष सेनले एक व्यक्ति आफ्नो पछाडि लगाएको दाबी गरे। भिडियोमा एक व्यक्ति सेनसँग कुरा गरिरहेको र पछि त्यही व्यक्ति रोहित अनि दीपकराज गिरी बसेको रेष्टुरेन्टमा गएर उनीहरू नजिकै बसेको देखिन्छ।

उनले बुधबार सार्वजनिक भएको अडियोबारे खण्डन नगरी यताबाट पनि आउँछ अडियो भन्दै कसैले गाली गरेको अडियो राखेका छन्।

उता कुटपिटको योजना बनाएको अडियो सार्वजनिक भएपछि सुत्रन्युजका सन्चालक खड्काले निर्माता रोहितविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन दिएका छन्। अडियोमा रोहितमात्र आफूलाई आक्रमण गर्ने योजनामा देखिएकाले उनीविरुद्ध निवेदन दिएको खड्काले बताए।

भदौ १९, २०८२ बिहीबार १०:०१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।