रास्वपा नेता बदन भण्डारीमाथि सांघातिक आक्रमण, टाउकोमा गहिरो चोट

रास्वपा नेता बदन भण्डारीमाथि सांघातिक आक्रमण, टाउकोमा गहिरो चोट

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सार्वजनिक मामिला विभागका सचिव वदन भण्डारीमाथि गएराति सांघातिक आक्रमण भएको छ।

काठमाडौंको कपनस्थित प्रगति चोकमा मोटरसाइकलमा आएका तीन जनाको समूहले उनीमाथि रड र खुकुरी प्रहार गरी घाइते बनाएको हो।

रास्वपाका नेता प्रमोद न्यौपानेका अनुसार, नम्बर प्लेट छोपेर एउटा मोटरसाइकलमा आएका तीन जनामध्ये दुई जनाले भण्डारीमाथि रड प्रहार गरेका थिए भने अर्को एक जनासँग खुकुरी पनि थियो।

रड प्रहारबाट भण्डारीको टाउकोमा गहिरो चोट लागेको छ र करिब १० वटा टाँका लगाइएको छ। उनको शरीरका अन्य भागमा पनि डाम देखिएको छ। आक्रमणकारीले उनको गाडीमा समेत तोडफोड गरेका छन्।

न्यौपानेले आक्रमण ज्यान लिने उद्देश्यले गरिएको प्रस्ट देखिएको बताएका छन्।

‘भागेर घर नपुगेको भए सायद बदन...! आक्रमण ज्यान लिने उद्देश्यले गरिएको प्रस्ट हुन्छ’, उनले भने।

पीडित भण्डारीले आक्रमणको कारण ‘राजनीतिक’ प्रतिशोध हुन सक्ने बताएका छन्। उनका अनुसार, केही समयअघि ‘नारी टिभी’मा दिएको एक अन्तर्वार्तालाई लिएर आफूलाई निरन्तर धम्की आइरहेको थियो।

केही दिनअघि अपरिचित व्यक्तिहरू आफ्नो कार्यालयमा आएर उनको बारेमा सोधपुछसमेत गरेका थिए।

घटनाको विवरण र आशंकाबारे प्रहरीलाई जानकारी गराइएको छ। रास्वपाले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन माग गरेको छ।

भदौ १९, २०८२ बिहीबार ०९:०३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।