किम जोङ उनलाई जासुसीको डर : पुटिनसँगको भेटपछि सुरक्षागार्डले उठाए गिलास, पुछ्न लगाए टेबल-कुर्सी

एजेन्सी : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन आफ्नो स्वास्थ्य र गोप्य जानकारीलाई लिएर कति सतर्क छन् भन्ने कुराको पछिल्लो उदाहरण चीनको राजधानी बेइजिङमा देखिएको छ।
बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि किमका सुरक्षागार्डले उनको जुठो गिलाससमेत उठाएर लगेका छन्।
डेली मेलका अनुसार, भेटवार्ता सकिएपछि किमका सुरक्षागार्डले उनले प्रयोग गरेको कुर्सी र टेबललाई पनि निकै सावधानीपूर्वक सफा गरेका थिए।
एक रुसी पत्रकार अलेक्जेन्डर युनाशेवले बताएअनुसार, किम बसेको ठाउँमा उनको कुनै पनि जैविक निशान (जस्तै: औँलाको छाप, कपाल, थुक) नछुटोस् भनेर यस्तो गरिएको थियो।
विज्ञहरूले यसलाई रुस र चीनको सम्भावित जासुसीबाट बच्ने प्रयास वा किमले आफ्नो स्वास्थ्यसम्बन्धी जानकारी लुकाउन चाहेको रूपमा विश्लेषण गरेका छन्। कुनै पनि नेताको औँलाको छाप, रौं वा दिसा-पिसाबबाट उसको डीएनए र स्वास्थ्यसम्बन्धी गोप्य जानकारी पत्ता लगाउन सकिन्छ।
किन यति धेरै सतर्कता?
औँलाको छाप (फिंगरप्रिन्ट) बाट कुनै पनि व्यक्तिको गोप्य दस्तावेज, फोन, ल्यापटप र गोप्य स्थानसम्म पहुँच बनाउन सकिने भएकाले उत्तर कोरियाली नेता उनले यस्तो सतर्कता अपनाउले गर्छन्।
कुनै पनि देशको राष्ट्रपतिको स्वास्थ्य अवस्थालाई ‘अति गोप्य’ मानिन्छ। यदि यो जानकारी बाहिर आयो भने दुश्मन देशले त्यसको फाइदा उठाउन सक्ने भएकाले पनि यस्तो कार्यहरू गरिने गरिन्छ।
विदेशी एजेन्सीहरूले स्वास्थ्य रिपोर्ट चुहाएर राष्ट्रपति कमजोर वा बिरामी छन् भन्ने छवि निर्माण गर्न सक्छन्। यसले देशको आन्तरिक राजनीति र जनताको भरोसामा समेत असर पार्न सक्छ। यही कारणले विश्वका धेरै देशका सुरक्षा एजेन्सीहरूले विदेश भ्रमणमा आफ्ना नेताको औँलाको छाप मेटाउने र दिसा-पिसाबसमेत फिर्ता लैजाने गर्छन्।
पुटिनसँग सौहार्दपूर्ण भेट
पत्रकार युनाशेवका अनुसार, किम र पुटिनबीचको भेट निकै राम्रो रह्यो। दुवै नेता खुसी देखिन्थे र पछि सँगै चिया पिएका थिए।
भेटमा किमले पुटिनलाई भने, ‘यदि म रुसका लागि केही गर्न सक्छु भने, मलाई खुसी लाग्नेछ।’
त्यस अवसरमा पुटिनले युक्रेनमा सैनिक पठाएकोमा उत्तर कोरियालाई धन्यवाद दिएका थिए। कोभिड-१९ महामारीपछि किम जोङ उनको यो पहिलो चीन भ्रमण थियो। यहाँ उनले पुटिनसँगै चीनको ‘भिक्ट्री डे परेड’मा समेत भाग लिएका थिए।
पुटिनका लागि पनि उस्तै सुरक्षा
आफ्नो जैविक डाटा जोगाउने मामलामा पुटिन पनि किमभन्दा कम छैनन्।
गत महिना अमेरिकाको अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा पुटिनका बडीगार्ड एउटा विशेष सुटकेस लिएर पुगेका थिए, जसलाई ‘पप सुटकेस’ भनिन्छ।
रिपोर्टका अनुसार, उक्त सुटकेस पुटिनको दिसा-पिसाब सङ्कलन गर्नका लागि थियो ताकि कुनै पनि विदेशी एजेन्सीले उनको स्वास्थ्यबारे जानकारी नपाओस्।
फ्रान्सेली म्यागजिन 'पेरिस म्याच'का अनुसार, यो सुरक्षा प्रोटोकल नयाँ होइन। २०१७ मा फ्रान्स र भियना भ्रमणका क्रममा पनि यस्तै गरिएको थियो। यद्यपि, रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले यस्ता हल्लाहरूलाई सधैँ खारेज गर्दै आएको छ।
सार्वजनिक भइन् किमकी छोरी
चीनको ‘भिक्ट्री परेड’मा किम जोङ उनसँगै उनकी छोरी किम जु ए पनि देखिएकी थिइन्। किमकी छोरी देश बाहिर कुनै सार्वजनिक कार्यक्रममा देखिएको यो पहिलो पटक हो।
मिडिया रिपोर्टहरूका अनुसार, १२ वर्षीया किम जु एलाई किम जोङ उनको उत्तराधिकारीका रूपमा हेरिएको छ। उनी २०२२ देखि आफ्ना बुबासँग सैन्य परेड, हतियार परीक्षण र अन्य महत्त्वपूर्ण कार्यक्रमहरूमा देखिँदै आएकी छन्।
भदौ १९, २०८२ बिहीबार ०८:१९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।