पोर्चुगलको लिस्बनमा रेल दुर्घटना : १५ जनाको मृत्यु, १८ जना घाइते

एजेन्सी : पोर्चुगलको राजधानी लिस्बनमा रहेको ऐतिहासिक ग्लोरिया फ्युनिकुलर रेल पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ। अन्य १८ जना घाइते भएका छन्।
पोर्चुगलको आपतकालीन सेवाले बुधबार साँझ भएको यस दुःखद घटनाको पुष्टि गरेको हो। स्थानीय समयअनुसार बुधबार साँझ करिब ६ बजे उक्त दुर्घटना भएको हो।
आपतकालीन चिकित्सा सेवा प्राधिकरणका अनुसार, घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ, जसमा एक बच्चा पनि समावेश छन्। बाँकी १३ जनालाई सामान्य चोटपटक लागेको छ र उनीहरूको उपचार भइरहेको छ।
घटनालगत्तै डिब्बामा केही यात्रु फसेको आशंका गरिए पनि उद्धारकर्मीहरूले सफलतापूर्वक सबैलाई बाहिर निकालेको अधिकारीहरूले जनाएका छन्। घटनास्थलमा तत्कालै उद्धार कार्य सुरु गरिएको थियो।
यस घटनाप्रति पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गरेका छन्। त्यसैगरी, लिस्बनका मेयर कार्लोस मोइडेसले यसलाई राजधानीका लागि एक ‘कालो दिन’ को संज्ञा दिँदै घटनाको छानबिन गरिने बताएका छन्।
प्रारम्भिक जानकारीअनुसार, मृतकहरूमा केही विदेशी नागरिकसमेत रहेको आपतकालीन सेवाले जनाएको छ, तर उनीहरूको पहिचान भने खुलाइएको छैन।
भदौ १९, २०८२ बिहीबार ०८:०१:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।