आमाको नाममा नागरिकता लिन सर्त राखिएको विधेयक ‘क्रान्तिकारी’ !

आमाको नाममा नागरिकता लिन सर्त राखिएको विधेयक ‘क्रान्तिकारी’ !

काठमाडौं : बाबुको पहिचान नखुलेको अवस्थामा आमाको नामबाट नागरिकता जारी हुने प्रावधानसहितको नेपाल नागरिकता ऐन (दोस्रो संशोधन) विधेयकलाई सरकारले क्रान्तिकारी कदम दाबी गरिरहेको छ। तर सर्त बाबुको पहिचान नखुले भन्ने कायमै छ।

बुधवार मात्रै गृहमन्त्री रमेश लेखकले आमाको पनि वंश कायम हुनेगरी विधेयक आएको भन्दै प्रतिनिधिसभा आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको दाबी गरे। तर विधेयकमा बाबुको हकमा सर्त छैन। तर सन्तानलाई आमाको नाममा नागरिकता दिन सर्त झुन्ड्याइएको छ।

“आमाकै नागरिकताका आधारमा सन्तानले नागरिकता प्राप्त गर्छ भन्ने कुरालाई विधेयकमा सुनिश्चित गरिएको छ। आमाबाट पनि वंश कायम हुन्छ” लेखकले प्रतिनिधि सभामा विधेयकबारे उठेको प्रश्नको जवाफ दिनेक्रममा भने “बाबुको पहिचान नभएको अवस्थामा आमाकै नामबाट नागरिकता दिन सकिने विधेयकको आधारभूत तत्त्व हो।”

विधेयकमा १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई वैदेशिक यात्रामा सहजीकरण गर्न नाबालक परिचयपत्र प्राप्त गर्न सक्ने व्यवस्था समेत गरिएको भन्दै उनले यसलाई समयानुकूल सुधार दाबी गरे।

संविधानको भावनाबमोजिम कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित हुन नहुने र नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्नेगरी संवैधानिक व्यवस्थाको पूर्ण रूपमा कार्यान्वयन हुने दाबी गरिरहे।

“आमा वा बाबुले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानहरूले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ” उनले भने।

विद्यमान सामाजिक परिवेशअनुसार पहिचानविहीन भएर बस्नुपरेको वैदेशिक रोजगारमा गएका नेपाली महिलाका सन्तान नागरिकताविहीन भइरहेको अवस्थामा अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने उनले बताए।

भदौ १८, २०८२ बुधबार २०:५५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।