आँखा झिमिक्क, आइजिपीको फूली गायब

काठमाडौँ : प्रमुख प्रमुखको ६ महिने कार्यकाल सकिएका दीपक थापालाई दुई महिना पदावधि रहेका चन्द्रकुवेर खापुङले बिदाइ गरे। उनीसँगै बुधवार अन्य दुई एआइजी टेकबहादुर तामाङ र सुदिप गिरीले ३० वर्षीय सेवा अवधिका कारण बुधवारबाट अवकाश पाएका थिए।
बहालवाला प्रहरी महानिरीक्षकको अवकाशको दिनमा समेत नयाँ प्रहरी महानिरीक्षकबारे टुंगो नलाग्ने परम्परा भत्काउँदै यस पटक सरकारले पाँच दिन अगाडि नै भावी प्रहरी महानिरीक्षकका रूपमा खापुङलाई नियुक्त गर्ने निर्णय गरेकाले यस पटक प्रहरी प्रधान कार्यालयमा दिउसै बिदाइ कार्यक्रम हुन सक्यो। दिउसै गृहमन्त्री रमेश लेखकले थापालाई मन्त्रालयमा बिदाइ गर्न पाए।
प्रधान कार्यालयमा नवनियुक्त प्रहरी प्रमुख खापुङले सशस्त्र प्रहरी गण नम्बर-१ का गण प्रमुख (एसपी) सुवासचन्द्र बोहरा नेतृत्वको कम्पनीबाट थापालाई सम्मान गारत दिँदै बिदाइ गर्न पाए। खापुङले बिहीबार गृह सचिवबाट प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह पाएपछि प्रहरी संगठनको नेतृत्व सम्हाल्ने छन्।
२०८१ चैत ४ मा ३१ औँ प्रहरी महानिरीक्षकको रूपमा नियुक्ति पाएका थापा २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका थिए। सेवा प्रवेशको वर्ष गणनाका आधारमा बुधवार बेलुका ३० वर्ष पुग्ने भएपछि उनीसँगै उनका ब्याजका अन्य एआइजीहरूले पनि अवकाश पाए। थापाले जम्मा ६ महिना मात्र प्रहरी संगठनको नेतृत्व गरे।
पदावधिका आधारमा थापा सबैभन्दा कम कार्यकाल बिताउने प्रहरी महानिरीक्षक हैनन्। यस अगाडि ठाकुर प्रसाद ज्ञवाली पाँच महिनाका लागि मात्र प्रहरी महानिरीक्षक नियुक्त भइसकेका छन्। ज्ञवाली अगाडि हेमबहादुर गुरुङ ६ महिनाका लागि प्रहरी महानिरीक्षक नियुक्त भएका थिए।
सशस्त्र प्रहरी सङ्गठनमा १५ दिनका लागि मात्र पनि प्रहरी महानिरीक्षक नियुक्त भएको इतिहास छ। खापुङ २०५२ कार्तिक २७ मा अतिरिक्त सूचीमा प्रहरी सङ्गठनमा प्रवेश गरेका हुन्। प्रहरीमा अहिले कायम रहेको अवकाश सम्बन्धी सेवा अवधि कायम रहेमा खापुङले यही कात्तिक २७ मा अवकाश पाएर नेपाल प्रहरीको सबैभन्दा कम कार्यकाल संगठन प्रमुख भएको इतिहास बनाउने छन्। यो बिचमा संसद्मा विचाराधीन रहेको प्रहरी विधेयक पारित भएमा भने उनको कार्यकाल स्वतः ६ महिना थपिने छ।
कुलिङ अफ पिरियडको विवादले 'डुबायो' थापालाई
प्रस्तावित प्रहरी विधेयकमा ३० वर्षीय सेवा अवधि हटाएर पदावधि र उमेरका आधारमा मात्र अवकाश हुने प्रस्ताव गरियो। अवकाशको प्रावधानले वृत्ति विकासमा असर नपरोस् भनेर ऐन आएको पहिलो वर्षमा अवकाश पाउनेको हकमा स्वतः ६ महिना, दोस्रो वर्षको हकमा एक वर्ष र तेस्रो वर्षमा अवकाश पाउनेको हकमा स्वतः तीन वर्ष पदावधि थपिने प्रावधान राखियो।
यो प्रावधान अनुसार विधेयकलाई ऐन बनाउन प्रतिनिधि सभा हुँदै राज्य व्यवस्था समितिमा विधेयक पुग्यो। सो विधेयक फास्टट्रयाकमा पास गराउन छलफल समेत अगाडि बढेको थियो। थापा सक्रिय नै थिए।
उनको कार्यकाल भ्याउनेगरि छलफल अगाडि बढिरहेको बेलामा प्रतिनिधि सभामा आएको निजामती विधेयकमा कुलिङ अफ पिरियडमा चलखेल भएको सार्वजनिक भएसँगै प्रहरी विधेयकमाथिको छलफलै रोकियो। जसको प्रभावले थापाको कार्यकाल ६ महिना थपिन सकेन।
दुवै संसद्को अधिवेशन जारी रहेकाले २०८१ को आर्थिक वर्षभित्र प्रहरी ऐन ल्याउन सर्वोच्चबाट जारी भएको आदेशमा टेकेर अध्यादेशबाट ऐन ल्याउन सम्भव भएन। सरकारले फास्टट्रयाकबाट विधेयक पारित गर्नेबारे प्रधानमन्त्री केपी ओली सकारात्मक भएनन्। थापाको अवकाश टरेन।
एकै ब्याजबाट तीन आइजिपी
प्राय प्रहरी संगठनमा अतिरिक्त समूहबाट भर्ना भएकाहरूलाई भावी नेतृत्वको रूपमा हेरिन्न। तर सेवा अवधिका कारण पछिल्लो समय अतिरिक्त समूहबाट प्रहरी महानिरीक्षक नियुक्त हुनेको संख्या बढेको छ। सर्वेन्द्र खनालको अवकाशपछि अतिरिक्त समूहबाट ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक नियुक्त भएका थिए।
बशन्तबहादुर कुँवर नियमित समूहबाटै संगठनमा प्रवेश गरेका थिए। उनी नियमित समूहबाटै प्रहरी निरीक्षक भए। दीपक थापा अतिरिक्त समूहमा परेर ६ महिनापछि प्रहरी संगठनमा प्रवेश पाउँदा एकै ब्याजी भए पनि उनी पनि प्रहरी महानिरीक्षक नियुक्त भए। थापा नियुक्त भएको दुई महिनापछि अतिरिक्त समूहबाट खापुङ प्रहरी निरीक्षक नियुक्त हुँदा सेवा अवधिका कारण उनले पनि २ महिना प्रहरी प्रमुख हुने मौका पाए।
उनको कार्यकाल बढ्ने एक मात्र उपाय प्रहरी विधेयक ऐन बन्नु नै हो। तर यही बीचमा दशैँ र तिहार लगायतका पर्व र राज्य व्यवस्था समितिको नेतृत्व फेरबदलले यही संसद अधिवेशनले प्रहरी विधेयक टुंग्याउने सम्भावना कम देखिन्छ।
चार एआइजीको पद रिक्त
दुई दिन अगाडि नै ३० वर्षीय सेवा अवधिका कारण एआइजी कृष्णहरि शर्माले अवकाश पाइसकेका छन्। बुधवार थप दुई एआइजीले अवकाश पाए। बिहीबार खापुङ प्रहरी महानिरीक्षकमा नियुक्त भए लगत्तै प्रहरीमा एआइजीको चार पद रिक्त हुनेछ।
अहिले प्राविधिक बाहेक एआइजीमा दानबहादुर कार्की, राजन अधिकारी, डा मनोज केसी र सिद्धिविक्रम शाह छन्। प्रहरी नियमावली अनुसार एआइजीमध्ये सरकारले चाहेको व्यक्तिलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्ने प्रावधान रहेकाले रिक्त पदमा थपिने नयाँ चारसहित भावी प्रहरी महानिरीक्षकका लागि ८ जना प्रतिस्पर्धी हुनेछन्। बढुवा पाएको मितिका आधारमा भने डिबी, राजन र डा मनोज प्रतिस्पर्धी हुन्।
यीमध्येबाट शाह बाहेक प्रहरी महानिरीक्षक भए २०८४ सम्म प्रहरी महानिरीक्षक हुनेछन्। शाह २०५३ मा राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएकाले उनी प्रहरी महानिरीक्षक भएमा अहिलेको अवकाशको प्रावधान अनुसार २०८३ मा अवकाशमा जानेछन्।
भदौ १८, २०८२ बुधबार १९:२३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।