‘सब कुछ मिलालेंगे’ भनेको भिडियो ‘डिपफेक’ भन्दै साइबर ब्युरो पुगे स्वर्णिम वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेको आवाज प्रयोग गरी सामाजिक सञ्जालमा फैलाइएको ‘डीपफेक’ भिडियोविरुद्ध पार्टीले कानुनी कारबाही अगाडि बढाएको छ।
उक्त भिडियोको विरुद्धमा उजुरी दिन डा. वाग्ले काठमाडौंको भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा उपस्थित भएका छन्।
पार्टीको गम्भीर ध्यानाकर्षण भएको र सोही कार्यविरुद्ध कानुनी उपचार खोज्न लागिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
आजै प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद हरि ढकालले सत्तापक्षले आफ्ना नेताहरूको ‘डीपफेक भ्वाइस रेकर्ड’ बनाएर चरित्रहत्या गर्न थालेको गम्भीर आरोप लगाएका थिए।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ढकालले भनेका थिए, ‘भ्रष्टाचारविरुद्ध हाम्रो ९५ दिने आन्दोलनको प्रतिवाद सदनमा तर्कले गर्न नसकेपछि सत्तापक्षले हाम्रा नेताहरूको डीपफेक भ्वाइस रेकर्ड बनाएर बाहिर ल्याइरहेको छ।’
उनले सत्तापक्षले कर्कश, अराजक र असहिष्णु शैलीमा प्रतिवाद गरिरहेको र सदनमा नसकेपछि यस्ता षड्यन्त्रमा उत्रिएको आरोप लगाएका थिए।
डिपफेक भनिएको भिडियोमा वाग्लेको जस्तै आवाजमा ८४ पछि रास्वपा सत्तामा आउने र त्यसपछि सबै कुरा मिलाउँदै जाने भनि हिन्दी भाषामा बोलिएको छ।
त्यहाँ भनिएको छ, ‘क्या करलेंगे।हम तो मिलालेंगे ना ए सब। सब कुछ मिलालेंगे। आप चिन्ता मत किजिए। ८४ में.. इन द कमिङ इलेक्सन वी विल बी दि मेन फोर्स अफ दिस कन्ट्री। सो आपलोग तो चिन्ता मत करिए। य सब हो जाएगा। बस् चिन्ता मत किजिए।’
भदौ १८, २०८२ बुधबार १४:१७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।