प्रधानमन्त्रीको आलोचना गरेपछि सभामुखले काटे सांसदको माइक, विषय नमिलेको तर्क

काठमाडौं : प्रधानमन्त्रीको आलोचना गरेपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रकी सांसद छिरिङ ल्याहु लामा तामाङको माइक काटिदिएका छन्।
आकस्मिक समयमा बोलेलकी उनलाई लिएको आकिस्मक समय र विषयवस्तु मेल नखाएको भन्दै सभामुख घिमिरेले तामाङले बोल्दै गर्दा माइक काटिदिएका हुन्।
तामाङले सरकारले कर्णाली क्षेत्रका सडकमा बजेट र साधनस्रोत उपलब्ध नगराएको, बजेट विनियोजनमा झापालाई मात्र नेपाल देखेको भन्दै आलोचना गरेकी थिइन्।
उनले भनेकी थिइन्, ‘सरकारले बजेट विनियोजन गर्दा झापालाई नेपाल देख्छ। प्रधानमन्त्रीलाई हामीले नेपाल भनेको कर्णालीसहितको भूगोल हो। कर्णालीको विकास नगरी समृद्ध नेपाल बन्दैन भने पटक-पटक भनिरहेका छौँ।’
‘तर प्रधानमन्त्रीले अधुरो तथ्यको सहारा लिँदै कार्यकताको मगन्ते कुरा सुन्दै कर्णालीको विकासका बारेमा धारणा बनाएर गलत व्याख्या गर्नुहुन्छ’, उनले थपिन्।
तामाङले यति भनेपछि सभामुख घिमिरेले रोक्दै भने, ‘आकस्मिक समयलाई ध्यानमा राखेर बोल्नुहोला। जे विषयमा समय माग गर्नुभएको छ, त्यही विषयमा जान आग्रह गर्छु।’
त्यसपछि बोलेकी सांसद् तामाङले सदनको हरेक बैठकमा प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको व्यवस्था गर्न माग गरिन् र भनिन्, ‘प्रधानमन्त्रीले ‘जुरुक्क कर्णाली’ले उजागर गरेका विषयबस्तु...’
यत्तिकैमा माइक काटिन्छ र आकस्मिक समय लिएको विषय नमिलेको तर्क गर्दै उनलाई बस्न आग्रह गर्छन्। त्यसपछि माओवादी सांसदहरुले त्यसको विरोध गरे पछि सभामुखले शून्य समयको कारबाही अगाडि बढाउँछन्।
भदौ १८, २०८२ बुधबार १४:०२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।