उखु किसानको अनुदान कटौती नगर्न सांसद विनोद चौधरीको आग्रह, किसानको आन्दोलनप्रति ऐक्यबद्धता

काठमाडौं : नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गर्ने निर्णयको विरोध गर्दै तत्काल फिर्ता लिन माग गरेका छन्।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले अनुदान कटौतीविरुद्ध आन्दोलनरत किसानहरूप्रति ऐक्यबद्धता जनाएका छन्।
सरकारले उखुमा प्रतिक्विन्टल ७० रुपैयाँ दिँदै आएको अनुदानलाई आधाले घटाउने निर्णय गरेपछि देशभरका किसानहरू आन्दोलित छन्। यही निर्णयको विरोधमा उखु किसानहरूले भदौ ८ देखि १३ गतेसम्म काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए।
संसदमा बोल्दै नवलपरासी-१ बाट निर्वाचित सांसद चौधरीले सरकारको उक्त कदम किसानविरोधी भएको बताए।
‘कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो र उखु उत्पादन यसको महत्त्वपूर्ण हिस्सा हो,’ उनले भने, ‘तर, किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउँदा निराश छन्, जुन देशको अर्थतन्त्रका लागि राम्रो सङ्केत होइन।’
उत्पादन लागत बढ्दै गएको तर रासायनिक मल समेत नपाएर किसान दोहोरो मारमा परेको उनको भनाइ थियो।
‘उखु र केरा खेतीका लागि अन्य बालीभन्दा दोब्बर मल चाहिन्छ, तर किसानले न्यूनतम मल पनि पाएका छैनन्’, चौधरीले भने।
यस्तो कठिन अवस्थामा सरकारले दिँदै आएको अनुदान कटौती गर्नु दुर्भाग्यपूर्ण भएको बताउँदै उनले सो निर्णय तत्काल फिर्ता लिन माग गरे।
‘उत्पादन खर्च धान्नै मुस्किल परेको बेला अनुदान काटिनु किसानका लागि पीडादायी छ,’ उनले थपे, ‘सरकारले तत्काल अनुदान रकम उपलब्ध गराएर किसानको श्रमको उचित सम्मान गर्नुपर्छ।’
सांसद चौधरीले यसअघि पनि उखु किसानको भुक्तानी र अन्य समस्याबारे संसदमा निरन्तर आवाज उठाउँदै आएका छन्।
भदौ १८, २०८२ बुधबार १३:४५:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।