विदेशी स्याउको आयात एक महिना रोकियोस्, स्याउ बोकेका ट्रकलाई दुःख नदिइयोस्: सांसद शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जुम्ली स्याउ किसानको संरक्षणका लागि एक महिना विदेशी स्याउको आयात रोक्न सरकारसँग माग गरेका छन्।
उनले जुम्लाबाट स्याउ लिएर आउने क्रममा बाटोमा हुने अवरोध र प्रहरीले घुस लिएर दुःख दिने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले काठमाडौंका बजारमा आइपुगेको जुम्लाको अर्गानिक, रसिलो र स्वादिलो स्याउ खरिद गर्न सबैलाई आग्रह गरे।
उनले कृषि मन्त्रीलाई सम्बोधन गर्दै भने, ‘अघिल्लो महिना मात्रै क्वारेन्टाइन बिना एक अर्बको विदेशी स्याउ आयात भएको छ। यसले जुम्ली स्याउको बजारीकरणमा गम्भीर असर पारेको छ। कृपया, एक महिनाका लागि विदेशी स्याउको आयात रोकिदिनुहोस्।’
उनले किसान खुसी भए मात्र देश खुसी हुने भन्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
स्याउको रसभित्र किसानको पीडा लुकेको बताउँदै उनले यातायातको समस्याबारे पनि सदनलाई जानकारी गराए।
‘जुम्लाबाट आउने बाटो चार दिनदेखि बन्द छ। सडक डिभिजनको एउटा डोजरले ‘कोदोमा कुटोले हानेजसरी’ काम गरिरहेको छ, जुन अपर्याप्त छ’, उनले भने।
उनले यातायात मन्त्रीसँग सडक खुलाउन तत्काल थप उपकरण पठाउन आग्रह गरे।
सांसद शाहीले स्याउ बोकेका ट्रकलाई प्रहरीले ठाउँ-ठाउँमा रोकेर दुःख दिने र घुस माग्ने गरेको आरोप लगाए।
‘जुम्लाबाट स्याउ ल्याएको हो, अफिम होइन। प्रहरीले सय रुपैयाँ भए पनि घुस नलिई छोड्दैन,’ उनले गृहमन्त्रीलाई आग्रह गर्दै भने, ‘स्याउ बोकेका गाडीलाई कुनै पनि ठाउँमा चेक नगर्ने व्यवस्था मिलाइयोस्।’
जुम्ला अर्गानिक जिल्ला घोषणा भइसकेको र त्यहाँ युरिया मल बेच्दा समेत जेल सजाय हुने भन्दै उनले स्याउमा विषादीको शंका गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पारे।
भदौ १८, २०८२ बुधबार १३:४१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।