सदनमा नसकेपछि सत्तापक्षले डीपफेक बनाउन थाल्यो : सांसद ढकाल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सत्तापक्षले सदनमा वैचारिक प्रतिवाद गर्न नसकेपछि आफ्ना नेताहरूको ‘डीपफेक भ्वाइस रेकर्ड’ बनाएर चरित्रहत्या गर्न खोजेको आरोप लगाएका छन्।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भ्रष्टाचार र मानव तस्करीविरुद्ध रास्वपाले ९५ दिनदेखि गरिरहेको आन्दोलनलाई सत्तापक्षले बेवास्ता गर्दै मिथ्या आरोप लगाएर दबाउन खोजेको बताए।
सांसद ढकालले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी र भ्रष्टाचारविरुद्ध आफूहरू ९५ दिनदेखि आन्दोलित भए पनि सरकारले नसुनेको गुनासो गरे।
‘हामीले बोलेको दुई मिनेटका लागि सत्तापक्षका माननीयले घण्टौं समय प्रतिवादमा खर्च गरिरहनुभएको छ,’ उनले भने, ‘कर्कश, अराजक र असहिष्णु शैलीमा हामीमाथि मिथ्या आरोप लगाइँदैछ।’
उनले सदनमा तर्कले प्रतिवाद गर्न नसकेपछि सत्तापक्षले आफ्ना नेताहरूको डीपफेक आवाज रेकर्ड गरेर बाहिर ल्याउने जस्ता हर्कत गरेको आरोप लगाए।
विरोधको आवाज दबाएर लोकतन्त्र बलियो नहुने तर्क गर्दै उनले राणा शासनको उदाहरण दिँदै भने, ‘राणाकालमा विरोधीलाई झुन्ड्याइन्थ्यो, गोली हानिन्थ्यो। तर के राणाशासन बच्यो? बचेन’
सांसद ढकालले अत्यधिक दलीयकरणले लोकतन्त्रलाई ‘सेपिलो’ बनाएको टिप्पणी गरे। उनले अहिले दलीय कब्जामा परेर निष्प्रभावी बनाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायहरू २०८४ सालपछि ब्यूँतने र सक्रिय रूपमा काम गर्ने दाबी गरे।
‘अहिले सेपिलो बनाएर राखिएको अख्तियार २०८४ पछि जुरुक्क उठ्छ र काम गर्न थाल्छ,’ उनले भने, ‘दलीयकरणमाथि कब्जा गरिएका सबै संवैधानिक आयोगहरूले पनि काम गर्न थाल्नेछन्।’
भदौ १८, २०८२ बुधबार १३:३२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।