र्यापर भ्योमको स्वरमा ‘अभिमन्यु’को टाइटल ट्रयाक सार्वजनिक, ट्रेलरले देखाएको बाटोमा हिँड्ला फिल्म?

काठमाडौं : ट्रेलरमार्फत नेपाली ‘क्राइम जनरा’मा नयाँ आशा जगाएको चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ ले आफ्नो टाइटल ट्रयाक सार्वजनिक गरेको छ।
ट्रेलरले अपराधको दुनियाँबाट बाहिरिन खोज्ने पात्रको विवशता देखाएर दर्शकमा जुन कौतुहलता जगाएको थियो, र्यापर भियोमाको स्वर, शब्द र संगीतमा रहेको गीतले त्यसलाई थप रहस्यमयी बनाएको छ।
सार्वजनिक गीतले पैसा, षड्यन्त्र र सम्बन्धमा आउने उतारचढावको कथा भन्छ। ‘जिन्दगी नै रहस्यमयी’ रहेको बताउने र्यापले पैसाले मान्छेको सक्कली चरित्र देखाउने र त्यसैका कारण सम्बन्धहरू टुट्ने यथार्थलाई प्रस्तुत गरेको छ।
षड्यन्त्रको जालोमा फसेको पात्रको तनावपूर्ण मनोविज्ञानलाई गीतले प्रभावकारी ढंगले उतारेको छ, जुन ट्रेलरमा देखाइएको कथावस्तुसँग मेल खाएको छ।
‘पूर्णबहादुरको सारङ्गी’ जस्तो सफल चलचित्रका निर्माताको प्रस्तुति भएकाले पनि ‘अभिमन्यु’प्रति अपेक्षा बढी छ। यसको ट्रेलरको गुणस्तर र कथाको छनकले सकारात्मक माहोल बनाएको छ। तर, नेपाली चलचित्र उद्योगको पुरानो रोग हो- ट्रेलर एकातिर, फिल्म अर्कोतिर।
यदि ‘अभिमन्यु’ यो रोगबाट मुक्त हुन सक्यो र ट्रेलरमा देखाइएको चुस्तता र गहिराइलाई फिल्मले कायम राख्न सक्यो भने यसले नेपाली अपराध जनरामा एउटा मानक बनाउन सक्ने बलियो संकेत दिएको छ। अहिलेसम्म यो जनरामा ‘वाह’ भन्नलायक फिल्म बन्न नसकेको अवस्थामा ‘अभिमन्यु’ त्यो खडेरी तोड्ने सम्भावना बोकेको फिल्म हो।
कामेश्वर चौरसियाको बदलिएको लुक्स र अभिनयको झल्कोसँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देलजस्ता अब्बल कलाकारको उपस्थितिले फिल्मको कास्टिङ बलियो देखाउँछ।
तर, बलियो टिमलाई पर्दामा निर्देशक सुशान्त गौतमले कसरी उतार्छन्, फिल्मको भविष्य त्यसैमा निर्भर हुनेछ। मुकेश खनालको लेखनमा बनेको यो चलचित्रलाई विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन्।
ट्रेलरले जगाएको आशा र टाइटल ट्रयाकले थपेको रहस्यबीच ‘अभिमन्यु’ भदौ २७ गते नेपाली र असोज ६ गते हिन्दी संस्करणमा दर्शकमाझ आउँदैछ ।
भदौ १८, २०८२ बुधबार ११:२८:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।