क्यान्सर पीडित शान्ति दर्जीद्वारा जीवन रक्षाका लागि सहयोगको अपिल

बुटवल : बुटवल उपमहानगरपालिका-१२ तामनगरकी ५५ वर्षीया शान्ति दर्जीले आफ्नो क्यान्सर उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्।
विगत ४ वर्षदेखि घाँटीको क्यान्सरसँग लड्दै आएकी उनको उपचारमा घरजग्गासहित सबै सम्पत्ति सकिएपछि जीवन रक्षाका लागि सहयोग माग्नुपरेको हो।
लामो समयदेखि चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत शान्ति हाल चरम आर्थिक अभावका कारण थलिएर घरमै बस्न बाध्य छिन्। रोगले च्याप्दै लगेपछि उनी बोल्न र खानसमेत नसक्ने अवस्थामा ओछ्यान परेकी छन्।
उनका श्रीमान् भिमबहादुर दर्जीका अनुसार, उपचारमा हालसम्म २८ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने परिवारले उपचारकै लागि भएको २ कठ्ठा १७ धुर जग्गासमेत बेचिसकेको छ।
चिकित्सकहरूले थप उपचारका लागि अझै ५ देखि ६ लाख रुपैयाँ लाग्ने बताएपछि परिवार थप संकटमा परेको हो।
आर्थिक अभावका कारण उपचार नै रोकिने अवस्था आएपछि दर्जी परिवारले सञ्चारकर्मीमार्फत सबै सहयोगी मनहरूलाई सहयोगको अपिल गरेको छ।
शान्ति दर्जीको जीवन बचाउने यस अभियानमा सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंक, बुटवल शाखामा रहेको शान्ति दर्जीको नाममा रहेको ३१२०१००२०८४८७०१० खाता नम्बरमा सिधै रकम जम्मा गर्न सक्नेछन्।
भदौ १८, २०८२ बुधबार ०९:५७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।