भरतपुरमा एक व्यक्तिको रहस्यमय मृत्यु, पहिचान खुल्न सकेन

चितवन : भरतपुर महानगरपालिका-२, जलमहलस्थित डेरामा अचेत अवस्थामा भेटिएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।
करिब ३५ वर्षीय मृतकको पहिचान ‘पदम जैसी’ भनेर चिनिए पनि उनको स्थायी वतन खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, विश्वलाल श्रेष्ठको घरमा विगत दुई महिनादेखि डेरामा बस्दै आएका जैसी मंगलबार राति करिब ११:५० बजे आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका थिए।
सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले उनलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुर सरकारी अस्पताल लगेको थियो।
अस्पताल पुर्याउँदा उनको अवस्था गम्भीर थियो र उनी बोल्न सक्ने अवस्थामा थिएनन्। उपचारकै क्रममा बुधबार बिहान करिब १२:३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटना रहस्यमय देखिएकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भदौ १८, २०८२ बुधबार ०९:५१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।