नेगेटिभ व्यापारले जन्माएको दुई निर्माताको दुस्मनी

काठमाडौं : गत दशैँताका सामाजिक सञ्जालमा फिल्म छक्कापन्जा ५ विरुद्ध अनौठो ट्रोल देखियो। फिल्मको कुनै प्रचार सामग्री राख्यो कि अर्को फिल्म १२ गाउँको प्रशंसा गर्ने, छक्कापन्जाको आलोचना गर्ने।
पोस्टर, टिजर, ट्रेलर, गीतहुँदै यो क्रम फिल्म रिलिज भएपछि पनि रोकिएन। जुन रूपमा ट्रोलर सक्रिय थिए त्यो सामान्य प्रयोगकर्ता भन्दा संगठित समूह नै सक्रिय भएको देखाउँथ्यो।
पछिल्ला वर्षहरूमा दशैँको माहौल दीपकराज गिरीको समूहले एकछत्र राज गर्दै आएका थिए। उनीहरूलाई चुनौती दिन हलहरूमा बलियो पकड बनाएका अशोक शर्मासम्मको जोड चलेन।
दशैँको फिल्मी बजार भनेकै दीपक-दीपाको भन्ने समान थियो। समीक्षामा मध्यम देखिए पनि उनको फिल्मलाई दर्शकले रुचाइरहेका थिए। संख्या बढेसँगै फिल्ममा सुधार पनि देखिन्थ्यो।
गत दशैँमा छक्कापन्जासँगै एक हैन तीन फिल्म रिलिज भए, १२ गाउँ अनि ज्वाइँ साब। दुवै फिल्मले आफ्नो हाइप बढाउन दीपक-दीपालाई नै टार्गेटमा राखेका थिए।
१२गाउँको टिम प्रत्यक्ष नदेखिए पनि फिल्मको प्रचार गराउन बलियो ब्रान्ड छक्कापन्जाको सञ्जालबाट नेगेटिभ मार्केटिङ गराएको प्रस्ट देखिन्थ्यो।
फिल्मको व्यापारमा त्यसको असर देखियो पनि। अति कमजोर फिल्म भए पनि बिराज र समीर भट्टको एक्सन अवतारको नाममा फिल्म दशैँमा सर्वाधिक कमाउनेमा पर्यो। छक्कापन्जा दोस्रोमा झर्यो। बिचमा घुसेको ज्वाईँसाबले नि लगानी उठायो।
त्यसै बेलामा दीपकले एक अन्तर्वार्तामा यो सबै काम गर्नेबारे थाहा छ भन्दै अर्का निर्माता सन्तोष सेन लक्षित टिप्पणी गरेपछि सेनले अस्वीकार गर्दै भिडियो नै बनाएर सामाजिक सञ्जालमा राखेका थिए।
तर योबारे मुख्य निर्माता बिराज लगायत निर्माण टिम मौन रह्यो। दीपक-दीपाले पनि मुख्य निर्माता लक्षित कुनै टिप्पणी गरेनन्।
सन्तोष-समीर सम्बन्ध
प्रेमगीत-३ मार्फत सन्तोष सेनले दक्षिण भारतीय शैली नेपालमा फैलाउने प्रयास गरे।
बाहुबलीको पात्रहरूलाई नेपालको हिमाली प्रेमकथामा मिसाएर हिन्दीमा समेत फिल्म डब गराएर भारतमा समेत रिलिज गराए।
तर अति कमजोर भिएफएक्स र सापटी लिइएको क्यारेक्टरका कारण हल्लाजती फिल्मले व्यापार गरेन।
प्रेमगीत-३ का अभिनेता प्रदीप खड्कालाई बलिउडका कलाकारकैस्तरमा प्रचार गराइयो। प्रदीप मुम्बईको बलिउड इभेन्ट्सहरुमा समेत देखिए। तर फिल्म फ्लप भयो, सन्तोष र प्रदीपको सम्बन्ध पनि फ्लप भयो। त्यही बेलामा एक्सन गर्न सक्ने अभिनेताको खोजीमा रहेका सन्तोषको नजर समीर भट्टमाथि पर्यो।
कुनै समय नेपाली फिल्ममा एक्सनमा जमेका बिराज एकाएक भोजपुरी फिल्मतिर भारतमै व्यस्त भएपछि यता हराए। उनी भारतको भोजपुरी फिल्मी दुनियाँमा भने मजाले जमे।
यता उनका छोरा समीर पनि अभिनय क्षेत्रमा आउन तयारी गरिरहेका थिए। मार्सल आर्ट्स सिक्नेदेखि व्यायाम गरेर ज्यान बलिष्ठ बनाउनसम्म उनी सक्रिय भए। बिचबीचमा बिराज छोरा समीरलाई डेब्यु गराउने तयारीमा भन्ने समाचार छ्यास्सछुस्स आइरहेका थिए।
दक्षिण भारतीय शैलीको अर्को फिल्म बनाउन बलिष्ठ ज्यान भएको अभिनेताको खोजीमा रहेका सन्तोषको नजर समीरमा पर्यो। उनले फिल्ममा अनुबन्ध गरिहाले। समीरको डेब्युको खबरलाई नेपाली फिल्मका पारखीले उत्साहजनक रूपमा स्वीकार गरेको देखियो।
भोजपुरी फिल्ममा उतैका कलाकारको क्रेज बढेसँगै बिराज नेपालमै सक्रिय हुने प्रयासमा थिए। सन्तोषको बलिदान बन्न समय लाग्ने भएपछि समीरको डेब्युको माहौललाई क्यास गर्न बिराज निर्माता बनेर छोरा समीरलाई आफ्नै फिल्मबाट डेब्यु गराउने तयारी गरे। र टाइटल जुराए १२गाउँ।
बलिदानको मुख्य भूमिकामा समीर लिएकाले १२गाउँ फ्लप भए सन्तोष पनि त्यसको मारमा पर्थेँ नै। १२गाउँ हिट भए उनलाई बलिदान चलाउन सहज हुन्थ्यो। उनी बिराजको शैली पनि दक्षिण भारतीय फिल्मकै थियो।
तर फिल्मको कथा, पटकथा र प्रस्तुति अति कमजोर देखिए पनि बिराज र समीरको एक्सनले दर्शकलाई हलसम्म आकर्षित गर्यो। सिरिजमध्ये बलियो भए पनि नेगेटिभ ट्रोलको प्रभावले छक्कापन्जा पछि धकेलियो।
अब पालो सन्तोषको
यो दशैँ लक्षित गरेर दीपक दीपाले फिल्म बनाएनन्। उता सन्तोषले अनेक हन्डर खेपेर भए पनि फिल्मको काम सक्काएर दशैँमा रिलिज गर्ने घोषणा गरे। तर यो पटक उनी पनि एक्लो छैनन् हलमा। हरिबहादुरको जुत्तासहित तीन फिल्म छन्।
बलिदानको प्रचार सामग्रीबाट यो दक्षिण भारतीय शैलीमा बनेको फिल्म हो भन्ने प्रस्टै देखिइसकेको छ। फिल्म कत्तिको बलियो छ भन्ने मात्र हो। उता हरिबहादुरको जुत्तामा हरिवंश आचार्यसहितको बलियो लाइनअपमा बनेको फिल्म भएकाले टक्कर त गजबकै दिने नै भयो।
त्यसमा बलिदानको प्रचार सामग्रीमा छक्कापन्जाको माहौल बिगार्न अपनाएको शैलीमा छुस्सछुस्स नेगेटिभ कमेन्ट सुरु भइरहेका छन्। यसले सन्तोष डराउने नै भए।
त्यसैले मंगलबार दीपकले फेसबुकमा सांकेतिक सन्देश लेख्दा पनि सन्तोष सेन चुप बस्न सकेनन्। प्रतिक्रियामा उत्रिए। उनले जुन शैलीमा उत्तर दिए दीपकले सन्तोषको नाम नलेखी त्यो भन्दा कडा शैलीमा जवाफ फर्काए।
यसले दीपक गत वर्षको षडयन्त्रको बदलाको मुडमा देखिन्छन्। फिल्म चल्ने पालो सन्तोषको छ। उनी रक्षात्मक हुने नै भए।
भदौ १८, २०८२ बुधबार ०७:४५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।