
उच्च बिन्दुमा पुग्यो बेलायतको तापक्रम

एजेन्सी : बेलायतको मौसम विभाग (मेट अफिस) ले सोमबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार सन् २०२५ को गर्मीयाम अहिलेसम्मकै सबैभन्दा उच्च तापमान भएको मौसमीय अवधिका रूपमा पुष्टि गरिएको छ।
जुन १ देखि अगस्ट ३१ सम्मको अवधिमा बेलायतको औसत तापक्रम १६.१० डिग्री सेल्सियस मापन गरिएको छ, जुन दीर्घकालीन औसतभन्दा १.५१ डिग्रीले बढी हो। यसले सन् २०१८ को १५.७६ डिग्रीको अघिल्लो कीर्तिमानलाई पार गरेको छ।
मेट अफिसकी मौसमविद् एमिली कार्लिसलका अनुसार यो निरन्तर तापक्रम वृद्धिमा विभिन्न कारणहरूको भूमिका रहेको छ। यी सबैले वातावरणमा ताप जम्मा हुने र लामो समयसम्म टिकिरहने अवस्था बनाएका छन्।
सन् २००० यता बेलायतमा सबैभन्दा उच्च तापक्रम भएका पाँचवटा गर्मीयामहरू मापन गरिएका छन्, जुन जलवायु परिवर्तनको गम्भीर सङ्केत हो।
मौसम विज्ञहरूका अनुसार, यदि मानवनिर्मित हरितगृह ग्यासको प्रभाव नभएको भए, सन् २०२५ जस्तो मौसम करिब ३४० वर्षमा एकपटक मात्र देखिन सक्थ्यो। तर हालको अवस्थामा अनुसार यस्ता अवस्था करिब पाँच वर्षमै एकपटक देखिन सक्छ, जसको सम्भावना प्राकृतिक अवस्थाको तुलनामा करिब ७० गुणा बढी छ।
भदौ १७, २०८२ मंगलबार २१:५४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।