
बक्स अफिस रिपोर्ट : पलले ढाँटे ‘मोहर’को कमाई, माग्नेराजा देखि कोशेढुंगासम्मको ग्रस कलेक्शन कति ?

काठमाडौं : नेपाली फिल्मका निर्माता तथा कलाकारहरूले आफ्नो फिल्मले यति कमायो भन्दै सामाजिक सञ्जालमा खुसी भएको जस्तो देखाइरहेका हुन्छन्। तर वास्तविकता भने त्यसो हुँदैन।
गत साउन २३ गतेबाट दुई नेपाली फिल्म हलमा लागे। पल शाह अभिनीत फिल्म ‘मोहर’ र सौगात मल्ल अभिनीत फिल्म ‘सिटामोल’। ‘सिटामोल’ले एक हप्तामा ५० लाख ग्रस कलेक्सन गर्दै हलबाट उत्रियो। राजबहादुर सानेको निर्देशनमा बनेको यो फिल्ममा सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका छ।
दुई फिल्ममध्ये फिल्म ‘मोहर’को ग्रस कलेक्सन निकै राम्रो छ। यो फिल्मले सोमबारसम्म ४ करोड ९२ लाख ग्रस कलेक्सन गरेको छ। तर मोहर टिमले आफ्नो फिल्मले गत शुक्रबार नै ५ करोड ४२ लाख ग्रस कलेक्सन गरेको भन्दै सामाजिक सञ्जालमा प्रचार गरिरहेको छ।
यो फिल्मका अभिनेता पल शाहले पनि २३ दिनको बक्स अफिस कलेक्सन ५ करोड ४२ लाख भन्दै प्रचार गरेका छन्। उनले आफ्नो फेसबुकमार्फत रिलिज भएको २३ औँ दिनसम्म आइपुग्दा ५ करोड ४२ लाख ग्रस कलेक्सन भयो भन्दै दर्शकलाई ढाँटेका छन्।
‘रिलिज भएको आज २३ औँ दिनसम्म आइपुग्दा ५.४२ करोड सङ्कलन यो चलचित्रको मात्र सफलता होइन, तपाईं हामी सबैको सामूहिक गौरव हो। कृपया आगामी दिनमा पनि यही माया र समर्थन निरन्तर प्रवाहित गरिरहनुहोस् है,’ उनले लेखेका छन्।
ओम प्रतीकको निर्देशनमा बनेको यो फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, सुशील देवकोटा लगायतको अभिनय रहेको छ।
यस्तै भदौ ६ गतेबाट प्रदर्शनमा आएको दुई नेपाली फिल्म ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को ग्रस कलेक्सन तलमाथि देखिन्छ। विजय बराल अभिनीत फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’ले सोमबारसम्म बोर्डको बक्सअफिसमा १ करोड १० लाख ग्रस कलेक्सन गरेको छ।
यो फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् भने फिल्ममा विजय बरालका अलावा केकी अधिकारी, मिरुना मगर, भोला राज सापकोटा, गौरव पहारीलगायतले अभिनय गरेका छन्।
यता ‘माग्ने राजा’मा केदार प्रसाद घिमिरे (माग्ने बुढा)को मुख्य भूमिका रहेको छ। उनकै कथामा घुमेको यस फिल्मले ४ करोड ९ लाख ग्रस कलेक्सन गरेको छ। ऋषि लामिछानेको निर्देशनमा बनेको यो फिल्ममा केदारका अलावा वर्षा सिवाकोटी, शिशिर वाङ्देवल, आर्यन सिग्देल लगायतले अभिनय गरेका छन्। अहिले पनि यो फिल्मले हलमा राम्रो शो पाइरहेको छ।
यस्तै गत बिहीबारबाट हलमा लागेको फिल्म ‘कोशेढुङ्गा’को ५ दिनको ग्रस कलेक्सन निकै कमजोर छ। सोमबारसम्म बोर्डको बक्सअफिसमा ६९ लाख २१ हजार ग्रस कलेक्सन छ। यो फिल्मलाई सरोज पौडेलले लेखेका हुन् भने निर्देशन पनि उनले नै गरेका हुन्। यो फिल्ममा सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा लगायतको अभिनय छ।
त्यसैगरी शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘गुन्यु चोलो’को अवस्था निकै दयनीय छ। यसको ४ दिनको ग्रस कलेक्सन २५ लाख २५ हजार मात्रै भएको छ। समुन्द्र भट्टको निर्देशनमा बनेको यस फिल्ममा नाजिर हुसेन, विशाल पहारी, सञ्जिता लुइँटेल, सुशिल सिटौला लगायतका कलाकारले अभिनय गरेका छन्।
आगामी शुक्रबारबाट दयाहाङ राईको ‘रिमै’ र माधव राज खरेलको ‘चिठी’ थपिने छन्।
भदौ १७, २०८२ मंगलबार २१:१२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।