एमालेले सचिवालय बैठक बोलायो, विधान महाधिवेशनमा प्रस्तुत हुने तीन प्रतिवेदनमाथि छलफल हुने

एमालेले सचिवालय बैठक बोलायो, विधान महाधिवेशनमा प्रस्तुत हुने तीन प्रतिवेदनमाथि छलफल हुने
Filephoto

काठमाडौं : एमालेले यही भदौ १९ गते बिहीबार अपराह्न ३ बजे केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीनवटा प्रतिवेदनमाथि छलफल हुनेछ।

बैठकमा प्रस्तुत गरिने प्रतिवेदनहरूमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र सङ्गठनात्मक प्रतिवेदन समावेश छन्। यी प्रतिवेदनमाथि छलफल गरी पारित गरेपछि विधान महाधिवेशनमा पेश गरिने गौतमले जानकारी दिए। 

महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा भदौ २० देखि २२ गतेसम्म हुने तय भएको छ। सो महाधिवेशनमा करिब २ हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरी २ हजार ३५० जना सहभागी हुनेछन्।

भदौ १७, २०८२ मंगलबार २०:१२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।