
अपहरणमा परेको हल्ला फैलाएका विद्यार्थी मन्दिरमा भेटिए, बयानमा भने- ‘होमवर्क’ गरेको थिइन

गुल्मी : गुल्मीको एक विद्यालयका विद्यार्थीले मंगलबार ‘होमवर्क’ नगरेपछि अपहरणमा परेको नाटक गरेको खुलेको छ। गुल्मीको मदाने गाउँपालिका-६ पुर्कोट दहस्थित श्री पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थीले मंगलबार विद्यालय आउँदै गरेका ८ जना विद्यार्थीमध्ये ७ जनाले कक्षा ७ मा अध्ययनरत भुवन कुँवरलाई अपरिचित व्यक्तिले अपहरण गरेको भन्दै हल्ला फैलाएका थिए।
सो जानकारीपछि विद्यालय, स्थानीय र अभिभावकले इलाका प्रहरी कार्यालय पुर्कोट दहमा खबर गरे। लगत्तै खोजी कार्य सुरू गरेको प्रहरीले भुवनलाई मन्दिरमा लुकेको अवस्थामा फेला परेको थियो।
सोधपुछ गर्दा उनले गृहकार्य नगरेको कारण अपहरण भएको झुटो बहाना बनाएको खुल्यो।
विद्यालयले घटना अपहरण नभई विद्यार्थीको बहानाबाजी मात्र भएको प्रष्ट पार्दै सबै कक्षा नियमित सञ्चालनमा रहेको जनाएको छ। साथै, घटनाबारे भ्रममा नपर्न विद्यालयले विज्ञप्ति मार्फत भनेको छ।
विद्यालयका प्रधानाध्यापक मदनबहादुर कुँवर क्षेत्रीले विद्यार्थीहरूलाई तर्साउने धम्काउने काम कसैबाट नभएको बताए।उनी भेटिनु अघि केही विद्यार्थीहरुलाई आफु सहित अन्य साथीहरूलाई खुकुरी देखाएर उम्काएको र किड्नी बिक्री गर्न अपहरण गर्छु भनेको बयान दिएका थिए।
भदौ १७, २०८२ मंगलबार १७:४२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।