‘घण्टी घर’मा शिक्षक महासंघको धर्ना

काठमाडौं : नेपाल शिक्षक महासंघले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय, वनस्थलीमा धर्ना दिएको छ। शिक्षा विधेयक संशोधनको मागसहित महासंघले पहिलो चरणको आन्दोलन अन्तर्गत विभिन्न दलका कार्यालयहरूमा धर्ना दिने कार्यक्रम गर्दै आएको हो।
धर्ना कार्यक्रममा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको आन्दोलनलाई केहीले ‘रमिता’ भनेर व्याख्या गरेकोप्रति आपत्ति जनाउँदै, विद्यालय शिक्षाको सुधार र गुणस्तरीय भविष्यका लागि यो महाअभियान भएको स्पष्ट पारे। उनले भने, ‘विधेयकलाई उल्टो बाटो लगिएको छ, हामी त्यसलाई सुल्टो बाटोमा ल्याउन माग गर्दैछौं। लोकतन्त्रमा आफ्नो कुरा भन्न पाइन्छ, तर रमिता देखाउने हाम्रो उद्देश्य होइन।’
सुवेदीले यसअघि चैत्र देखि वैशाखसम्म भएको आन्दोलनलाई समेत रमिता भनेर टिप्पणी गरिए पनि त्यो आन्दोलनले विद्यालय शिक्षाको हितमा आवाज बुलन्द गरेको स्मरण गराउँदै, यसपटकको आन्दोलन पनि त्यसैको निरन्तरता भएको बताए।
यसअघि महासंघले कांग्रेस, एमाले, माओवादी केन्द्र र नेकपा (एस) को कार्यालयमा पनि धर्ना दिइसकेको छ।
भदौ १७, २०८२ मंगलबार १५:०५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।