अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच शिष्टाचार भेट

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसियाका उपाध्यक्ष जोहानेस जुटबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ।
भेटमा दुवैबीच समग्र अर्थतन्त्र, सहरी तथा भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरणलगायत विषयमा विस्तृत छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा आर्थिक सूचकहरूमा उल्लेखनीय सुधार आएको बताउँदै नीतिगत, संरचनागत र कार्यान्वयन प्रक्रियामा सरकार निरन्तर सुधारतर्फ उन्मुख रहेको जानकारी दिए। उनले विश्व बैंकले आगामी छ वर्षका लागि तयार गरेको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’ नेपालका विकास प्राथमिकतासँग मेल खाने भएकाले त्यसअनुसारका आयोजना अघि बढाउन सरकार तयार रहेको उल्लेख गरे।
पौडेलले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक हाल राष्ट्रियसभामा छलफलमा रहेको प्रष्ट पार्दै, उक्त विधेयक पारित भएपछि निजी क्षेत्रसँग साझेदारी गर्दै प्रतिफल दिने आयोजना सञ्चालन गर्न सकिने धारणा राखे। उनले यसमा विश्व बैंकको प्राविधिक तथा वित्तीय सहयोगको अपेक्षा पनि व्यक्त गरे।
त्यस्तै, उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका सूचकहरू सुधार हुनु सकारात्मक रहेको भन्दै आर्थिक वृद्धिदर उच्च राख्न विश्व बैंकले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले लुम्बिनी, काठमाडौँ उपत्यकाको सहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र समग्र आर्थिक वृद्धिमा सहयोग गर्ने आश्वासन दिँदै निजी क्षेत्रलाई समेत समेटेर अघि बढ्नुपर्नेमा जोड दिए।
जुटले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कानुन बनेसँगै पूर्वाधार क्षेत्रमा नयाँ अवसरहरू खुल्ने विश्वास व्यक्त गर्दै, निजी लगानी आकर्षित गर्न र उत्पादकत्व वृद्धि गर्न विश्व बैंक साथमा रहने बताए।
भदौ १७, २०८२ मंगलबार १४:३२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।