दार्चुला अटो दुर्घटना : बेपत्ता दुई किशोरीको शव भेटियो, एक महिला अझै बेपत्ता

दार्चुला अटो दुर्घटना : बेपत्ता दुई किशोरीको शव भेटियो, एक महिला अझै बेपत्ता

दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकामा सोमबार अटो दुर्घटनामा परी खोलामा बेपत्ता भएका तीन जनामध्ये दुई किशोरीको शव भेटिएको छ। दुर्घटनामा परेकी एक महिला भने अझै बेपत्ता छिन्।

जिल्लाको नौगाड गाउँपालिका-५, सौकेबगरस्थित भित्री सडकखण्डमा होपरीगाडबाट मसिनेबगरतर्फ जाँदै गरेको म १ ह ११४८ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५० फिट तल नौगाड खोलामा खसेको थियो।

अटोमा सवार ५ जनामध्ये १२ वर्षीया आरुषा धामीको शव घटनास्थल नजिकै र १७ वर्षीया भागा धामीको शव दुर्घटनास्थलबाट करिब ७ किलोमिटर तल फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ।

दुर्घटनामा बेपत्ता ४७ वर्षीया चाखुरी देवी धामीको खोजीकार्य जारी रहेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जलविद्युतका कर्मचारी र स्थानीय बासिन्दाहरूको संयुक्त टोलीले उनको खोजी गरिरहेको छ।

दुर्घटनामा घाइते भएका १६ वर्षीय आयुष भुललाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

भदौ १७, २०८२ मंगलबार १३:४७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।