युएई पठाउने भन्दै २ लाख ३० हजार ठगीको आरोपमा एक जना पक्राउ

युएई पठाउने भन्दै २ लाख ३० हजार ठगीको आरोपमा एक जना पक्राउ
फाइल तस्बिर

काठमाडौं : वैदेशिक रोजगारीका लागि युएई पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाएर दुई जनाबाट २ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्युठानको नौबहिनी गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्ने ३२ वर्षीय मिनराज राना क्षेत्री रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई सोमबार काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो।

पीडितहरूले उनीविरुद्ध उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। मिनराजले रकम लिएपछि सम्पर्कविहीन भएको पीडितहरूको भनाइ छ।

पक्राउ परेका क्षेत्रीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

भदौ १७, २०८२ मंगलबार १३:३६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।