भान्साकोठामा खाडल, खाडलभित्र श्रीमतीको शव : हत्या आरोपमा श्रीमान् पक्राउ

अर्घाखाँची : अर्घाखाँचीमा एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरी शव भान्साकोठाभित्रै खाडल खनेर पुरेको विभत्स घटना सार्वजनिक भएको छ।
श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले छत्रदेव गाउँपालिका-४, पातलेका ३६ वर्षीय किरण गुरुङलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, किरणले आफ्नी ३४ वर्षीया श्रीमती सुमित्रा कुमाल गुरुङको हत्या गरेको सूचना सोमबार राति प्रहरीलाई प्राप्त भएको थियो।
सूचनाको आधारमा प्रहरी चौकी वल्कोटबाट खटिएको टोली घटनास्थल पुग्दा घरको भान्सा कोठामा खाडल खनेर पुरिएको अवस्थामा सुमित्राको शव फेला परेको थियो।
शव बरामद गरेलगत्तै प्रहरीले श्रीमान् किरणलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा हत्यापछि प्रमाण लुकाउने उद्देश्यले भान्सामा खाडल खनेर शव पुरेको देखिएको प्रहरीले जनाएको छ।
घटनाको कारणबारे खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
भदौ १७, २०८२ मंगलबार १३:३१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।