ललितपुरमा १४ वर्षीय किशोरद्वारा किशोरी बलात्कृत, १० हप्ताको गर्भवती भएपछि बाल अदालतमा मुद्दा

काठमाडौं : ललितपुरमा एक १४ वर्षीय किशोरमाथि १४ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा मुद्दा दायर भएको छ। पीडित किशोरी १० हप्ताको गर्भवती भएको पुष्टि भएपछि घटना बाहिर आएको हो।
जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम भक्तपुरस्थित बाल अदालतमा अभियोगपत्र दर्ता गर्दै किशोरलाई कानून अनुसार सजायको माग गरेको छ।
अभियोग पत्रमा उल्लेख भएअनुसार, पीडित किशोरीले करिब एक हप्तादेखि बान्ता गर्ने र अस्वस्थ हुने लक्षण देखाएपछि उनकी आमाले गत साउन २७ गते उपचारका लागि पाटन अस्पताल लगेकी थिइन्। अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा किशोरी १० हप्ताको गर्भवती रहेको खुलासा भयो।
आमाले सोधपुछ गर्दा किशोरीले दुई वर्षदेखि कुराकानी भइरहेको एक किशोरले गत जेठ महिनाको दोस्रो हप्तामा आफ्नो डेरा कोठामा आई बलात्कार गरेको कुरा बताएकी थिइन्। सोही आधारमा पीडितकी आमाले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान अघि बढेको थियो।
अनुसन्धानका क्रममा दुवै किशोर-किशोरीले दुई वर्षदेखि एउटै विद्यालयमा पढ्दा चिनजान भएको र पछि प्रेम सम्बन्धमा रहेको स्वीकारेका छन्।
बयानका क्रममा किशोरले आफूहरू प्रेम सम्बन्धमा रहेको र घटना भएको दिन किशोरीले नै ‘कोठामा कोही छैन, उतै बसौँला’ भनेर बोलाएको दाबी गरेका छन्।
उनले कोठामा पुगेपछि किशोरीले नै ‘बच्चा चाहियो’ भन्दै शारीरिक सम्बन्धका लागि सहमति दिएको र दुई पटक सम्बन्ध राखेको स्वीकार गरेका छन्। उनले आफ्नो तर्फबाट कुनै जबरजस्ती नभएको जिकिर गरेका छन्।
उता, पीडित किशोरीले भने किशोर आफ्नो कोठामा आएको र कुराकानीकै क्रममा शारीरिक सम्बन्धको प्रस्ताव राखेको बताएकी छिन्।
आफूले ‘उमेर पुगेर बिहे गरेपछि मात्र यस्तो काम गर्ने हो’ भनी अस्वीकार गर्दागर्दै किशोरले जबरजस्ती खाटमा सुताएर करणी गरेको बयान दिएकी छन्। प्रेम सम्बन्धका कारण आफूले यो कुरा कसैलाई नभनेको तर गर्भवती भएपछि आमालाई सबै कुरा बताउन बाध्य भएको उनको भनाइ छ।
अभियोग पत्रमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग मञ्जुरी लिएरै करणी गरे पनि त्यसलाई बलात्कार मानिने कानुनी व्यवस्थालाई मुख्य आधार बनाइएको छ। पीडित भनिएकी किशोरी र किशोर दुवैको उमेर घटनाको समयमा १४ वर्ष रहेको जन्मदर्ताबाट पुष्टि भएको छ।
सरकारी वकीलको कार्यालयले किशोरलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३) को देहाय (ग) अनुसार (१२ देखि १४ वर्ष कैद) सजाय हुनुपर्नेमा, निज बालक भएकोले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ (३) अनुसार वयस्कलाई हुने सजायको आधा सजाय हुनुपर्ने माग गरिएको छ।
यसका अलावा सोही कानुनअनुसार पाँच लाख रुपैयाँ जरिवाना गरी उक्त रकम पीडित राहत कोषमा जम्मा गर्न माग गरिएको र पीडित भनिएकी किशोरीको शारीरिक, मानसिक र भावनात्मक क्षतिको मनासिब क्षतिपूर्ति भराउन र तत्कालका लागि अन्तरिम राहत उपलब्ध गराउन समेत माग गरिएको छ।
अनुसन्धानका क्रममा संकलन गरिएको मनोसामाजिक प्रतिवेदनअनुसार, पीडित किशोरी आफ्नो र किशोरको सम्बन्धको भविष्यलाई लिएर चिन्तित छिन्। उता, किशोरले घटनाप्रति पछुतो व्यक्त गर्दै आफूले यस्तो परिणामको अपेक्षा नगरेको बताएका छन्।
सरकारी वकीलको कार्यालयले जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, दुवैको बयान, स्वास्थ्य परीक्षण प्रतिवेदन, र अन्य साक्षीको कागजलाई प्रमाणको रूपमा पेश गरेको छ।
मुद्दा हाल बाल अदालतमा विचाराधीन रहेको र बालबालिका संलग्न भएकोले बन्द इजलासबाट निरन्तर सुनुवाइ गर्न समेत माग गरिएको छ।
भदौ १७, २०८२ मंगलबार १२:२९:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।