सन्तोषलाई ‘चोर’ र ‘साँढे’ भन्दै खनिए दीपक, सामाजिक सञ्जालको झगडाले लियो उग्र रूप

सन्तोषलाई ‘चोर’ र ‘साँढे’ भन्दै खनिए दीपक, सामाजिक सञ्जालको झगडाले लियो उग्र रूप

काठमाडौं : नेपाली चलचित्र क्षेत्रका दुई ठूला निर्माता, दीपकराज गिरी र सन्तोष सेनबीच चलिरहेको सामाजिक सञ्जालको वाकयुद्धले नयाँ र उग्र मोड लिएको छ। गिरीले एक व्यंग्यात्मक तर कडा स्टाटस लेख्दै सेनलाई अप्रत्यक्ष रूपमा ‘चोर’ को संज्ञा दिएपछि यो विवाद थप चर्किएको हो।

गिरीले आफ्नो पछिल्लो फेसबुक स्टाटसमा एउटा पुरानो नेपाली उखानलाई उद्धृत गर्दै सन्तोष सेनमाथि निशाना साँधेका छन्। उनले लेखेका छन्, ‘चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले! बिचरो न त व्यंग्य बुझ्छ! न बौद्धिकता थाहा छ, बुरूक बुरूक साँढे उफ्रे झै उफ्रिन्छ! माया लाग्छ।’

गिरीको यो टिप्पणीले उनीहरूको विवाद व्यक्तिगत आरोप-प्रत्यारोपमा झरेको स्पष्ट संकेत गर्छ। यसअघि गिरीले ‘आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूलाई गाली गर्न लगाउने प्रवृत्ति’ बारे एक सामान्य र सांकेतिक पोस्ट गरेका थिए।

तर, सेनले त्यसलाई आफूमाथि लक्षित भन्दै लामो र आक्रामक जवाफ फर्काएपछि गिरीले यो पछिल्लो स्टाटसमार्फत सेनले नै आफ्नो गल्ती स्वीकार गरेको आशय व्यक्त गरेका हुन्।

यो वाकयुद्धको सुरुवात दीपकराज गिरीको एउटा फेसबुक पोस्टबाट भएको थियो, जसमा उनले लेखेका थिए, ‘आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्मलाई गाली गर्न लगाउने काम बन्द गरौँ। आफ्नो हिरो बाघ! अरूको स्याल? याद गरौँ बाघ पनि जनावर नै हो!’

गिरीको यही पोस्टलाई लिएर निर्माता तथा निर्देशक सन्तोष सेनले कडा आपत्ति जनाएका थिए। उनले गिरीमाथि नै ‘फेक अकाउन्ट’ मार्फत नकारात्मक प्रचार गराएको र दर्शकको भावनासँग खेलबाड गरेको गम्भीर आरोप लगाए।

सेनले आफ्नो बचाउमा कालीमाता र पशुपतिनाथको कसम खाँदै आफूले कहिल्यै कसैलाई गिराएर अगाडि बढ्ने ‘पापी सोच’ नपालेको दाबी गरेका थिए।

उनले लेखेका थिए, ‘यदि वास्तवमै मैले कहिल्यै कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको छु भने, यसै क्षण मेरो जीवन अन्त्य होस्।’

गिरी र सेनबीचको यो टकराव पहिलो पटक भने होइन। यसअघि विराज भट्टका छोरा समीर भट्ट अभिनित चलचित्र ‘१२ गाउँ’ प्रदर्शन हुँदा पनि यस्तै किसिमको विवाद सतहमा आएको थियो। त्यतिबेला पनि ‘छक्का पन्जा’को टिमले सेनमाथि सामाजिक सञ्जालमा ‘साइबर समूह’ परिचालन गरेर नकारात्मक प्रचार गरेको आरोप लगाएको थियो।

अहिले सेन आफ्नो नयाँ चलचित्र ‘बलिदान’ को तयारीमा छन् भने गिरी ‘छक्का पन्जा ५’ को तयारीमा छन्। दुवै चलचित्रमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।को छ।

भदौ १७, २०८२ मंगलबार १०:४४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।